बाजुराको दानसाँगु खोलामा बन्ने भयो पुल

  आइतबार ०७, मङि्सर २०८२ ०७:३९     रासस

बाजुरा । बाजुराको बुढीनन्दा नगरपालिकामा पर्ने दानसाँगु खोलामा पक्की पुल निर्माण गरिने भएको छ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले उक्त पुलको शनिवार शिलान्यास गरेका हुन्। 

बुढीनन्दा नगरपालिकाका प्रमुख जनककुमार बोहराका अनुसार वर्षौँदेखि उक्त खोलामा पुल नहुँदा स्थानीयले सास्ती भोग्दै आएका थिए। नगरपालिकाको पटकपटकको प्रयासपछि उक्त पुल निर्माण सम्भव भएको हो।

सुदूरपश्चिम प्रदेश भौतिक पूर्वाधार विकासको सहयोगमा उक्त खोलामा पुल निर्माण हुन लागेको सो मन्त्रालयका निर्देशक जगतप्रसाद जोशीले जानकारी दिए। 

प्रदेश सरकारको तीन करोड ९३ लाख ७५ हजारको लगानीमा पुल निर्माण गर्न सम्झौता भएको हो । विसं २०८४ असार मसान्तसम्म पुल निर्माण गर्ने गरी प्रदेश सरकारसँग सम्झौता भएको छ।  रासस

clock आइतबार ०७, मङि्सर २०८२ ०७:३९     रासस

प्रतिक्रिया