दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माणको प्रारम्भिक काम सम्पन्न
कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी सुुक्खा बन्दरगाह निर्माणको प्रारम्भिक चरणको काम सम्पन्न भएको छ । भारत सरकारको आर्थिक र प्राविधिक सहयोगमा निर्माण सुरु भएको बन्दरगाहमा पहिलो चरणको काम सकिएको हो ।
बन्दरगाह निर्माण क्षेत्रमा रुख व्यवस्थापन गर्ने, सडकको पहुुँच मार्ग निर्माण, मजदुुर बस्नका लागि भवन निर्माण, जग्गा सम्याउने काम सकिएको नेपाल इन्टरमोडल यातायात विकास समितिले जनाएको छ । समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले प्रारम्भिक चरणको काम सकिएकाले पूर्ण रूपमा निर्माण छिट्टै सुरु हुने जानकारी दिए ।
बन्दरगाह निर्माणका लागि आवश्यक पर्ने सामग्री र औजार आयातमा भन्सार छुटका लागि उद्योग वाणिज्य तथा आपूूर्ति मन्त्रालयमार्फत स्वीकृति प्रदान गरी कार्यान्वयनका लागि अर्थ मन्त्रालयमा सिफारिस गरिएको उनले बताए ।
सुदूरपश्चिमको व्यापारलाई सहजीकरण गर्ने उद्देश्यसाथ भारत सरकारको आर्थिक र प्राविधिक सहयोगमा निर्माण हुन लागेको सो बन्दरगाहले आयातनिर्यातलाई सहजीकरण गर्ने उनको भनाइ छ । भारत सरकारले बन्दरगाह निर्माणका लागि तीन अर्ब ८० करोड भारतीय रुपियाँ सहयोग गर्ने छ ।
दोधारा चाँदनी बन्दरगाह भारतको सहयोगमा निर्माण गर्ने विषयमा नेपाल–भारतबिच सन् २०२३ जुन १ मा सम्झौता भएको थियो । सम्झौता भएको दुई वर्षमा बन्दरगाह निर्माणका लागि नेपालतर्फबाट गर्ने सबै काम सकिएको समितिले जनाएको छ ।
बन्दरगाह निर्माणका लागि नेपालका तर्फबाट गर्ने सबै काम सकिएर कम्पनीसँग सम्झौतासमेत भइसकेको छ । तीन वर्षभित्र बन्दरगाह निर्माणसम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
प्रतिक्रिया