धानको निर्धारित कोटा खरिद रोकिएपछि कञ्चनपुरका किसान आन्दोलित

  बिहिबार ०४, मङि्सर २०८२ ०६:४८

 

कञ्चनपुर । धान खरिदको निर्धारित कोटा पूरा भएको भन्दै खरिद प्रक्रिया रोकिएपछि कञ्चनपुरका किसान आक्रोशित भएका छन् । बुधवार धान बिक्रीका लागि टोकन लिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी कार्यालय पुगेका उनीहरू धन खरिदको निर्धारित कोटा पूरा भएपछि अलपत्र परेका हुन् । कञ्चनपुरमा गत कार्तिक १६ गतेबाट समर्थन मूल्यमा धान खरिद सुरु गरिएको थियो ।

सुरुवातमा जानकारी नपाएका किसान १९ गते टोकन लिन आएका किसानलाई मङ्सिर ३ गतेसम्मका लागि टोकन वितरण भइसकेको भन्दै नाम टिपाएर ३ गते बोलाइयो । तर कार्यालयले बोलाएकै मितिमा गएका उनीहरूलाई निर्धारित कोटा पुरा भएको भन्दै कार्यालयले फिर्ता गरेपछि विवाद सृजना भएको छ । सरकारले किसानको धान खरिदका लागि समर्थन मूल्य तोके पनि खाद्यले व्यापारीको धान खरिद गरेको भन्दै किसानहरू आक्रोशित भएका छन् ।

कञ्चनपुरमा खेतीयोग्य जमिनमध्ये ४८ हजार क्षेत्रफलमा धान खेती गरिन्छ । कृषि ज्ञान केन्द्र कञ्चनपुरका अनुसार यस वर्ष जिल्लामा ४ दशमलव २ मेट्रिक टन धान उत्पादन भएको छ । तर सरकारले भने धान खरिदका लागि पाँच हजार क्विन्टल मात्रै कोटा निर्धारण गर्दा किसान मर्कामा परेका छन् । सबै किसानहरूले सरकारले तोकेको समर्थन मूल्यमा धान बिक्री गर्न पाएका छैनन् ।

सरकारले धान खेती हुने क्षेत्रफल र उत्पादनका आधारमा कोटा निर्धारण गर्नुपर्ने उनीहरूको माग छ । गत कार्तिक १९ धान बिक्रीका लागि टोकन लिन खाद्य पुग्नु भएका शुक्लाफाँटा नगरपालिका ३ का जीवन भण्डारी १५ दिन धाउँदा पनि धान आफूलेबिक्रि गर्न नपाएको दुखेसो पोख्नुभयो ।

किसानले व्यापारीको धान खरिद गरेको भन्दै आक्रोश व्यक्त गर्दा खाद्य व्यवस्था तथा व्यापार कम्पनी महेन्द्रनगरका शाखा प्रमुख महिरकार महरा भने वडाको सिफारिसका आधारमा धान खरिद भइरहेको बताउनुहुन्छ । उहाँ धान बिक्रीका लागि आएका किसानहरुको नाम सङ्कलन गरी प्रदेश र विभागमा पठाउने जानकारी दिनुभयो ।

सरकारले यस वर्ष मध्यम धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार ६सय २८ दशमलव ३३ रुपैयाँ तोकेको छ भने मोटा धानको मूल्य प्रतिक्विन्टल तीन हजार चार सय ६३ दशमलव ८१ रुपैयाँ तोकेको छ । तर समयमा धान खरिद नगर्ने खाद्यले किसानले बिक्री गर्न नपाउँदै कोटा पुगेको भन्दै खरिद रोकेपछि आक्रोशित बनेका छन् ।

clock बिहिबार ०४, मङि्सर २०८२ ०६:४८

प्रतिक्रिया