धनगढीमा चिया बेचेर पढाइ खर्च जुटाउदै पुष्पा

  सोमबार ०१, मङि्सर २०८२ १०:३९

धनगढी । “दाइ र अङ्कल कालो चिया खाइदिनूस् न,” प्रायः यसरी नै विनम्रतापूर्वक आग्रह गर्दै कालो चिया बेच्दै हिँड्नु पुष्पा जोशीको अचेल दैनिकी बनेको छ । हातमा चिया राखेको बोतल र गिलास बोकेर साँझबिहान धनगढीको क्याम्पस रोड क्षेत्रमा उनी देखिन्छीन्  । 

बझाङकी पुष्पा धनगढीमा आफ्नो शैक्षिक खर्च आफैँ जोहो गर्नका लागि डुल्दै चिया बेच्दै आएकी छन् । “म गरी खान्छु र आफ्नो पढाइ खर्च आफैँ बेहोर्छु भनेर चिया बेच्ने काम गर्न थालेको उनको भनाई छ । उनले भनीन् “जब मलाई दुःख हुन्छ, तब मात्रै पैसाको महत्व बुझ्न सक्छु ।”

कैलाली बहुमुखी क्याम्पसमा बिबिएस पहिलो वर्षमा अध्ययनरत पुष्पा धनगढीमा भाउजूसँग बसेर साँझबिहान चिया बेच्ने काम गरिरहनुभएको छ । यो काम गर्दा घरपरिवारका कसैले पनि चित्त नदुखाएको उनको भनाइ छ ।

चारबर्से बिबिएस अध्ययन गर्न वार्षिक २८ हजार रुपियाँ खर्च हुने गर्छ । त्यति पैसा चिया बेचेर आफूले जुटाउने लक्ष्यका साथ काम थालेको उनले बताइन् ।

“अहिले त काम थालेको थोरै मात्रै भएको छ,” मुस्कुराउँदै पुष्पाले भन्नुभयो, “तर यति पैसाको जोहो गर्न सक्छु । मेरो पढाइ खर्च आफैँ जुटाउँछु, ताकि पढाउन यत्रो खर्च गरियो भनेर अभिभावकको गुनासो सुन्न नपरोस् ।”

clock सोमबार ०१, मङि्सर २०८२ १०:३९

प्रतिक्रिया