धनगढी उपमहानगरपालिकाले विद्यार्थीलाई दिवा खाजा खुवाउन केन्द्रीकृत भान्साघर सञ्चालनमा ल्याउँदै

  आइतबार ३०, कार्तिक २०८२ २०:३२

धनगढी । धनगढी उपमहानगरपालिकाले कक्षा १ देखि ८ सम्मका बालबालिकालाई दिवा खाजा खुवाउन केन्द्रीकृत भान्साघर सञ्चालन गर्ने भएको छ। केन्द्रीकृत भान्साघर सञ्चालन गर्न उपमहानगरपालिका र ूफुड फर लाइफू नामक  संस्थाबिच सम्झौता भएको छ। आइतबार भान्साघर सञ्चालनमा ल्याउने सम्झौता भएको हो।

धनगढीको वडा नम्बर १ देखि ८ सम्मका विद्यालयमा केन्द्रीकृत भान्साघरमा तयार भएको खाजा पुगाइने छ। प्रति विद्यार्थी २० रुपैयाँको दिवाखाजा प्याकिङ गरेर तोकिएको समयमा विद्यालयमा पुगाइनेछ।

धनगढी–७ तिल्केचोकमा एकीकृत भान्साघर निर्माण भइसकेको र अबको दुई महिनाभित्र भान्साघर सञ्चालनमा आउने शिक्षा महाशाखा प्रमुख घुम्मनसिंह बडायकले बताए। उनले उपमहानगरपालिकाले ूफुड फर लाइभू नामक संस्थासँग दुई वर्षका लागि सम्झौता भएको बताए।

भान्साघरको भौतिक संरचना र आवश्यक उपकरण तथा भाडा वर्तनको व्यवस्थापन उपमहानगरपालिकाले गरेको हो। केन्द्रीकृत भान्साघर सञ्चालन भएपछि  विद्यार्थीहरूले गुणस्तरीय र एकै किसिमको खाजा उपभोग गर्न पाउनेछन्।

अहिलेसम्म विद्यालयमै दिवाखाजा तयार गरेर दिने गरिएको छ, भान्साघर सञ्चालनमा आएपछि विद्यालयमा खाजा तयार गर्नुपर्ने झन्झट हट्ने छ।

एकीकृत भान्साघर सञ्चालनमा आएपछि धनगढीको वडा नम्बर १ देखि ८ सम्मका सामुदायिक विद्यालयका कक्षा ८ सम्म अध्ययनरत तीन हजार ६ सय विद्यार्थीले गुणस्तरीय खाजा उपभोग गर्न पाउने उपमहानगरपालिकाले जनाएको छ।

केन्द्रीकृत भान्साघर सञ्चालनमा ल्याउने समझदारी पत्रमा नगर प्रमुख गोपाल हमाल र ूफुड फर लाइफूका प्रतिनिधिले हस्ताक्षर गरेका छन्।

clock आइतबार ३०, कार्तिक २०८२ २०:३२

प्रतिक्रिया