प्रतिनिधिसभा निर्वाचन कार्यतालिका सार्वजनिक, माघ ६ गते उम्मेदवारी दर्ता

  आइतबार ३०, कार्तिक २०८२ १९:५९

काठमाडौँ । निर्वाचन आयोग, नेपालले आगामी संवत् २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको विस्तृत कार्यक्रम सार्वजनिक गरेको छ । 

आयोगले आज आइतबार बसेको बैठकबाट निर्णय गर्दै पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम सार्वजनिक गरेको हो । यो कार्यक्रम आयोगको वेबसाइट र नेपाल राजपत्रमा समेत प्रकाशन गरिने जनाइएको छ ।

प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको कार्यक्रमअनुसार उम्मेदवारको मनोनयन पत्र दर्ता माघ ६ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा हुनेछ । सोही दिन बेलुका ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको सूची प्रकाशन गरिनेछ ।

मनोनयन पत्र दर्ता भएका उम्मेदवारको विरोधमा उजुरी दिने अवधि माघ ७ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म तोकिएको छ । त्यसपछि सोही दिन दिउँसो ३ बजेदेखि माघ ८ गते बेलुका ५ बजेसम्म मनोनयन पत्र र उजुरीउपर जाँचबुझ एवम् निर्णय गरिनेछ । माघ ८ गते बेलुका ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुनेछ । 

उम्मेदवारले माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म आफ्नो नाम फिर्ता लिन सक्नेछन् । सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम रहेको छ ।

समानुपातिक निर्वाचन प्रणालीतर्फ कार्यक्रम

समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम मंसिर २० गतेदेखि सञ्चालन हुनेछ । यसअन्तर्गत, मंसिर २१ गते बिहान १० बजेदेखि २३ गते दिउँसो ४ बजेसम्म समानुपातिक निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलहरूले निवेदन पेस गर्नुपर्नेछ ।

निवेदन पेस गरेका राजनीतिक दलहरूको नामावली मंसिर २४ गते बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म प्रकाशन गरिनेछ । पुस १३ र १४ गते बिहान १० बजेदेखि ४ बजेसम्म राजनीतिक दलहरूले उम्मेदवारको बन्दसूची पेस गर्ने कार्यक्रम छ । 

माघ २० गते बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म उम्मेदवारको बन्दसूची अन्तिम रूपमा प्रकाशन गरिने आयोगले जनाएको छ । आयोगले स्वीकृत गरेको निर्वाचन कार्यक्रमअनुसार फागुन २१ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुनेछ । 

clock आइतबार ३०, कार्तिक २०८२ १९:५९

प्रतिक्रिया