कञ्चनपुरमा तीन हजार १२५ नयाँ मतदाता थपिए, दुई मतदानस्थल सारियो

  आइतबार ३०, कार्तिक २०८२ ०७:१९

कञ्चनपुर । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लामा तीन हजार १ सय २५ नयाँ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालयका कम्प्युटर अपरेटर सङ्गीता विष्टका अनुसार शनिबारसम्म थपिएका मतदातामा पुरुष एक हजार ६ सय ८९ र महिला एक हजार ४ सय ३६ छन् ।

 

मतदाता नामावलीमा नाम दर्ता गर्नेमा बाह्य जिल्लाका पुरुष एक सय ३७ र महिला ९१ छन् । जिल्लामा नयाँ मतदाता थपिनुअघिको कुल मतदाताको सङ्ख्या तीन लाख तीन हजार ८७ रहेको छ । जसमा पुरुष एक लाख ४७ हजार २८३, महिला एक लाख ५५ हजार ८ सय ३ र अन्य एक छन् ।

 

निर्वाचन कार्यालयले असोजदेखि मतदाता नामावली सङ्कलन गर्दै आएको छ । मतदाता नामावली सङ्कलनको म्याद कात्तिक मसान्तसम्म रहे पनि निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता तथा अद्यावधिक कार्यमा देखिएको उत्साहजनक सहभागितालाई मध्यनजर गरी मतदाता नामावलीमा नाम दर्ता गर्ने म्याद बढाएर मङ्सिर ५ गतेसम्मका लागि थप गरेको छ ।

 

नामावलीमा नाम दर्ता गराउन राष्ट्रिय परिचयपत्र प्रयोग गरेर वा साविक प्रयोगमा रहेको प्रि–रजिष्ट्रेसन सिस्टममार्फत आवेदन गरी निर्वाचन कार्यालयमा जैविक विवरण (फोटो तथा औँठा छाप) दिएर सेवा लिन सकिने व्यवस्था गरिएको छ ।

 

जिल्लामा एक सय ३२ मतदातनस्थल रहेका छन् भने तीन सय ४६ मतदान केन्द्र छन् । मतदानस्थल र मतदान केन्द्र थप हुने सम्भावना भने नरहेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी भानबहादुर महराले बताए । ‘पुनरावलोकनका लागि समय अभाव छ, कृष्णपुर नगरपालिकाको वडा नं ५ र ८ मा रहेका दुईवटा मतदानस्थल भने सारिएको छ, उनले भने ।

 

उनका अनुसार वडा नं ५ को नगरपालिका भवनमा रहेको मतदानस्थललाई कञ्चन बहुमुखी क्याम्पसमा र वडा नं ८ को स्वास्थ्यचौकी भवनमा रहेको मतदानस्थललाई विणा माध्यमिक विद्यालयमा सारिएको छ । ‘मतदानस्थल र केन्द्र सबैको पहुँचमा पुग्नेगरी राखिएको छ,’ सूचना अधिकारी महराले भने, ‘सबै मतदानस्थल र केन्द्र अपाङ्ग, महिला र ज्येष्ठ नागरिकमैत्री बनाइने छन् ।’

clock आइतबार ३०, कार्तिक २०८२ ०७:१९

प्रतिक्रिया