डडेल्धुरामा सभाहल निर्माणको कार्य अलपत्र
धनगढी । डडेल्धुराको कीर्तिपुरमा निर्माण हुन लागेको सभाहलको काम वर्षौं बित्दासम्म पनि अगाडि बढ्न सकेको छैन । सरकारी तथा निजी दुवै क्षेत्रमा सभाहलको अभाव भएकाले यस्तो पूर्वाधारको आवश्यकता महसुस गरी सुरु गरिएको काम अहिले अलपत्र अवस्थामा पुगेको हो ।
जिल्ला समन्वय समिति डडेल्धुराका प्रमुख गगनसिंह भण्डारीका अनुसार सुदूरपश्चिम प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयमार्फत सभाहल निर्माणको प्रस्ताव स्वीकृत भएपछि जिल्ला समन्वय समितिको पहलमा काम थालिएको हो । ‘डडेल्धुरामा सभाहल अत्यावश्यक भएको भन्दै हामीले यसका लागि पहल गरेका थियौं, तर अहिले काम रोकिएको छ,’ उनले भने ।
दुई करोड पाँच लाख रुपैयाँ लागतमा दुई सय जना अट्ने क्षमता भएको सभाहल निर्माण गर्ने योजना बनाइएको थियो । पहिलो पटक आर्थिक वर्ष २०७९र८० मा जग हालेर पिलरका लागि फलामका छड ठड्याइए पनि त्यसपछि काम अगाडि बढेन । अहिले जगमा झारपात पलाइसकेका छन् र निर्माण स्थल जीर्ण अवस्थामा पुगेको छ ।
जिल्ला समन्वय समितिको कार्यालय रहेको कीर्तिपुरको जग्गामा सभाहल निर्माण गर्नका लागि जग खनिएको थियो । पहिलो वर्ष ४० लाख रुपैयाँ खर्च गरी जग खनिएको र संरचना तयार पारिएको भए पनि त्यसपछि काम ठप्प छ। सहरी विकास तथा भवन कार्यालयलाई पटक–पटक पत्राचार गरेको भएपनि कामले निरन्तरता पाउन नसकेको जिल्ला समन्वय समिति प्रमुख भण्डारीले बताए ।
उनका अनुसार आर्थिक वर्ष २०८१र८२ मा सुदूरपश्चिम प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयले ४५ लाख रुपैयाँ विनियोजन गरेको थियो । तर सहरी विकास तथा भवन कार्यालयले भवन निर्माणको जिम्मा पाएकामा कार्यालयले निर्माण कम्पनीलाई कार्यादेश नदिँदा काम अघि बढ्न सकेन । फलस्वरूप रकम फ्रिज हुन पुग्यो ।
सभाहल निर्माणका लागि दुई करोड पाँचलाख रुपैयाँ लागत अनुमानसहित बहुवर्षीय योजना अन्तर्गत २०७९ सालमा ठेक्का आह्वान गरिएको थियो । पहिलो वर्षको काममा जग हाल्ने कार्य सम्पन्न भएको थियो, तर दोस्रो वर्ष बजेट नपर्दा काम रोकियो । पछिल्लो वर्ष केही रकम विनियोजन भए पनि विविध प्राविधिक समस्या देखाउदै काम अगाडि बढेको छैन । रासस
प्रतिक्रिया