बन्दै छ छाङरु र टिङ्कर जोड्ने बाटो

  बिहिबार २७, कार्तिक २०८२ १०:४३
दार्चुलाको छाङरुदेखि दुम्लिङसम्म जोखिमपूर्ण क्षेत्रमा चट्टान खोपेर घोडेटो बाटो बनाइँदै ।

दार्चुला । चीन र भारतसँग सीमा जोडिएको दोपाखे, बयली र तम्बाकु क्षेत्रमा बाटो निर्माण सुरु भएसँगै स्थानीय खुसी भएका छन् ।

व्यास गाउँपालिकाले गत आर्थिक वर्ष २०८१/८२ मा गरेको ठेक्का सम्झौता अन्तर्गत बाटो निर्माण भइरहेको निर्माण कम्पनीले जनाएको छ ।

नेपालबाटै व्यासको वडा नम्बर १ टिङ्कर र छाङरुको धेरै जसो ठाउँको पैदलबाटो निर्माण अघि बढिसकेको छ भने दोपाखे, बयली र तम्बाकु क्षेत्रको बाटो निर्माण अन्तिम चरणमा रहेको मिसन–देवहरी जेभीका प्रतिनिधि केशवबहादुर पालले बताए । 

सङ्घीय सरकारको ससर्त अनुदानबाट गत आवमा व्यास गाउँपालिकाले पाँच करोड ५०लाखको टेन्डर आह्वान गरी पैदल बाटो निर्माणको ठेक्का सम्झौता गरेको थियो । 

त्यसमध्ये एक करोड २५ लाख रुपियाँ बजेट फ्रिज भइसकेको गाउँपालिकाका लेखापाल गोपालसिंह विष्टले जानकारी दिनुभयो । 

गत असार ७ गतेको गाउँ कार्यपालिका बैठकले गाउँपालिकाको आन्तरिक स्रोतबाट बेहोर्ने गरी बाटो निर्माणको म्याद भने मङ्सिर १५ गतेसम्मका लागि थप गरेको छ । 

थपिएको म्यादभित्र बाटो निर्माण कार्य भइरहेको उनले बताए । गाउँपालिकाले चालु आव २०८२/८३ मा पैदल बाटो निर्माणका लागि ५० लाख रुपियाँ बजेट विनियोजन गरेको उनले बताए ।   

clock बिहिबार २७, कार्तिक २०८२ १०:४३

प्रतिक्रिया