प्रतिनिधि सभा बैठकमा बजेट पारित गर्न प्रस्ताव पेस हुँदै

  बुधबार १३, असार २०८० ०९:२९

काठमाडौं । प्रतिनिधिसभाबाट आज (बुधबार) गत जेठ १५ गते संसद्मा प्रस्तुत आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट पारित हुँदै छ । संघीय संसद् सचिवालयले आज बजेट पारित गर्ने कार्यसूची तय गरेको छ । मंगलबार मन्त्रीहरूले विनियोजन विधेयकमाथि उठेका प्रश्रको जवाफ दिने क्रम सम्पन्न भएको छ ।

मंगलबारको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, अर्थ मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको विनियोजन विधेयक २०८० अन्तर्गत विभिन्न शीर्षकहरूमा सांसदले उठाएका प्रश्नहरूको सम्बन्धित मन्त्रीले जवाफ दिनुभएको थियो ।

सोमबारको बैठकमा रक्षा, संघीय मामिला तथा सामान्य प्रशासन, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, स्वास्थ्य तथा जनसंख्या, परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिँचाइ, खानेपानी र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय शीर्षकमा विनियोजन बजेटमाथि सांसदहरूले उठाएको प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिनुभएको थियो ।

बैठकको सुरुमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विनियोजन विधेयक २०८० अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय एवम् उपराष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकहरूमाथि छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिनुहुनेछ ।

त्यसपछि सभामुख देवराज घिमिरेले विनियोजन विधेयकअन्तर्गत विभिन्न मन्त्रालयहरूको शीर्षकमा प्रस्तुत भएका खर्च कटौतीका प्रस्तावहरूलाई निर्णयार्थ प्रस्तुत गर्नुहुनेछ । विभिन्न मन्त्रालयहरूको खर्च कटौतीका लागि २७ जना सांसदले प्रस्ताव पेस गरेका छन्।

सभामुख घिमिरेले विनियोजन विधेयक २०८० का दफाहरूलाई निर्णयार्थ प्रस्तुत गर्नुहुनेछ ।

अर्थमन्त्री प्रकाशशरण महतले विनियोजन विधेयक २०८० लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ । यस्तै आर्थिक विधेयक २०८० माथि ‘विचार गरियोस्’ भन्ने प्रस्ताव पेस गर्नुहुनेछ । अर्थमन्त्रीले प्रस्ताव पेस गरेपछि आर्थिक विधेयकमाथि दफावार छलफलका लागि दिन तोकिनेछ। बुधबारको बैठकमा अर्थमन्त्री महतले राष्ट्र ऋण उठाउने विधेयक २०८० माथि विचार गरियोस् भनी प्रस्ताव पेस गर्नुहुनेछ ।

यसैबीच, आगामी आर्थिक वर्षका लागि सरकारले संसद्मा पेस गरेको बजेट पारित गर्न सत्तारूढ कांग्रेस र माओवादीले हृवीप जारी गरेका छन् । आज बिहान ११ बजे बस्ने संसद् बैठकमा अनिवार्य उपस्थित भएर बजेटको पक्षमा मतदान गर्न कांग्रेस र माओवादीले आफ्ना सांसदलाई निर्देशन दिएका हुन् । बजेटको मुख्य अंश विनियोजन विधेयक २०८०/८१ पारित गर्ने तयारी गरिएको संसद् सचिवालयले जनाएको छ ।

clock बुधबार १३, असार २०८० ०९:२९

प्रतिक्रिया