सुदूरपश्चिम प्रदेश सभा सञ्चालनका लागि मर्मत गरिँदै भवन

  बुधबार २६, कार्तिक २०८२ १७:३९

धनगढी । जेनजी आन्दोलनमा क्षति भएको सुदूरपश्चिम प्रदेश सभाको मर्मत गरिँदै छ। कानुनी अडचनका कारण तत्काल धेरै बजेट खर्च गर्न नमिलेकाले सभाको बैठक सकेसम्म चाँडै सञ्चालन होस् भनेर काम चलाउका लागि मर्मत गर्न थालिएको हो।

प्रदेश सभा सचिवालयले प्रदेश सभा बैठक हलको रङरोगन, सरसफाइ, तार जडानलगायतका कार्य अगाडि बढाइ रहेको सचिव देवबहादुर बोगटीले जानकारी दिए। उनका अनुसार प्रदेश सभा भवनको माथिको सिलिङ भने सङ्घीय सहरी विकास तथा भवन निर्माण कार्यालयले मर्मत गर्ने भएको छ।

जेनजी आन्दोलनकारीको आगजनी र तोडफोडबाट प्रदेश सभा भवनमा क्षति भएको थियो। यद्यपि बैठक हल भित्र रोस्टम, केही कुर्सी र टेबल जोगिएको छ। अपुग कुर्सी, टेबलको व्यवस्था गरिसकेको सचिव बोगटीले जानकारी दिए।यसैगरी प्रदेश सभा बैठकको अडियोभिडियो लाइभका लागि दातृ निकाय  युएनडिपी र युएनएफपिएले प्राविधिक सामग्री सहयोग गरिरहेका छन्।

करिब ४३ लाख रुपियाँको अडियोभिडियो लाइभ प्राविधिक सामग्री सहयोग गरिने जनाइएको छ। सहरी विकासले प्राविधिक सामग्रीबाहेक प्रदेश सभा भवनको मर्मतमा २९ लाख रुपियाँ लाग्ने ठहर गरेको छ तर मर्मतमा यति रकम खर्च गर्न टेन्डर प्रक्रियामा जानुपर्ने र यसले अझ ढिलो हुने भएकाले कोटेसनमार्फत मर्मत गरिँदै छ।

कानुनी अडचनका कारण तत्काल मर्मत गर्न धेरै बजेट खर्च गर्न नमिलेकाले कोटेसनमार्फत मर्मतको काम अगाडि बढाएको सचिव बोगटीको भनाइ छ। यसैबिच मर्मतको काम कात्तिक महिनाभित्र सम्पन्न नहुने प्रदेश सभा सचिवालयले जानकारी दिएको छ। मर्मतपछि मात्रै प्रदेश सभा बैठक सञ्चालन हुने छ।

clock बुधबार २६, कार्तिक २०८२ १७:३९

प्रतिक्रिया