कैलाली र कञ्चनपुरमा लागूऔषधसहित एकैदिन ८ जना पक्राउ

  मङ्गलबार १८, कार्तिक २०८२ ०८:२५

धनगढी । कैलाली र कञ्चनपुरबाट प्रहरीले लागूऔषधसहित एकैदिन आठ जनालाई पक्राउ गरेको छ । कैलालीमा दुई र कञ्चनपुरमा ६ जना गरेर लागूऔषधसहित आठ जनालाई पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

कैलालीको टिकापुर नगरपालिका–९ खक्रौला भन्सार चेकपोष्ट नजिक लागूऔषधसहित दुई जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा बर्दियाको गेरुवा गाउँपालिका–१ छापापुरका २८ वर्षीय धर्मेन्द्र आचार्य र २९ वर्षीय आशिष नेपाली रहेका छन् । 

शंकास्पद रूपमा चेकजाँच गर्दा उनीहरूको साथबाट १ ग्राम ९९० मिलिग्राम लागूऔषध खैरो हेरोइन बरामद गरिएको छ । उनीहरूलाई प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।

यस्तै, कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ गुलरिया क्षेत्रमा समेत प्रहरीले ठूलो परिमाणमा लागूऔषध बरामद गरेको छ । गोप्य सूचनाको आधारमा प्रहरीले गुलरियास्थित २१ वर्षीय गणेश बोहराको घरमा खानतलासी गर्दा घरको ग्यालरीमा लुकाएर राखेको अवस्थामा ७ ग्राम ३४० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ बरामद गरिएको छ ।

लागूऔषधसहित घरभित्र शंकास्पद रूपमा रहेका २३ वर्षीय मिलन भट्ट, २२ वर्षीय रिदम भट्ट, ३२ वर्षीय हर्क देउवा, २१ वर्षीय पारस जोशी र ३० वर्षीय गणेशबहादुर बिष्टलाई समेत पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उनीहरुलाई लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय गुलरियाको संयुक्त टोलीले नियन्त्रणमा लिएको थियो । उनीहरु सबैलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

clock मङ्गलबार १८, कार्तिक २०८२ ०८:२५

प्रतिक्रिया