अतिक्रमित भूमि लिपुलेकमा भारतको म्याराथन, नेपालीपक्षलाई छैन जानकारी

  मङ्गलबार १८, कार्तिक २०८२ ०६:३९

लोकेश साउँद, बैतडी । नेपालको नक्सामा कायम गरिएको दार्चुलाको उत्तर–पश्चिमी क्षेत्रमा आइतवार भारतका सात सय जना धावकहरुको सहभागीतामा अल्ट्रा–म्याराथनको आयोजना गरिएको छ। उच्चहिमाली क्षेत्रमा अल्ट्रा–म्याराथनको आयोजना गर्दै भारतका २२ राज्य र केही विदेशीसमेत गरी सात सयभन्दा बढी सहभागीहरूले भाग लिएर नयाँ रेकर्ड कायम गरिएको छ।

भारतको उत्तराखण्ड राज्य स्थापनाको २५ औं वर्षिकोत्सवमा पन्ध्र हजार फिटको उचाइमा सरकारले अल्ट्रा म्याराथनको आयोजना गरेको इन्डो तिब्बतियन बोर्डर पुलिस ९आइटिबिपी०का महानिरीक्षक (आइजी) सञ्जय गुञ्ज्यालले जानकारी दिएका छन्। धार्मिक तथा साँस्कृतिकमहत्वको ओम पर्वतलाइ परिक्रमा गर्नेगरी ६० किलोमिटरको अल्ट्रा म्याराथनको आयोजना गरिएको हो।

उक्त कार्यक्रममा भारत सरकारका सडक परिवहन राज्यमन्त्री अजय टमटा प्रमुख अतिथिका रुपमा सहभागी थिए। गुन्जीमा आयोजना गरिएको एक कार्यक्रममा मन्त्री टमटाले यसलाई जाडो सिजनको पर्यटनका लागि भारत सरकारको सपना साकार पार्ने प्रयास भएको बताएका छन्।

'पछिल्ला १० वर्षमा यो क्षेत्रमा सडकको कनेक्टिभिटी गाउँ(गाउँमा पुर्‍याएका छौँ। सडकको स्तरोन्नती हुँदैछ, सुविधाहरु थप्दै लगेका छौँ,' उनले भनेका छन्। ‘जोलिङकङमा बिएसएनलको नेटवर्क समेत बिस्तार गरिएको छ।' टमटाले पर्यटनका लागि पूर्वाधारहरु तयार रहेको र सुविधाहरु थपिदै गएको सन्देश दिएका छन्।

माइनस १९ डिग्रीको तापक्रममा भारतीय सेना र आइटिबिपीले पर्यटनका लागि सम्पूर्ण तयारी गरेको र उपयुक्त वातावरण निर्माण गरिरहेको बताइएको छ। यो क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि 'आदी कैलास परिक्रमा रन' कार्यक्रम आयोजनागरिएको उनीहरुले बताएका छन्। आइटिबिपीका महानिरीक्षक गुन्ज्यालले ‘साँस्कृतिक तथा आध्यात्मिक क्षेत्रको प्रवर्द्धनको यो सुरुवात भएको र अन्य इभेन्टहरुको ढोका खुलेको बताए।

भारतको मुम्बइबाट पहिलोचोटी यहाँ आएकी एक महिला धावकले आफू १० किलोमिटर दौडिन आएको र यो सबै भन्दा उपयुक्त लोकेसन रहेको बताइन्। साथै यहाँको व्यवस्थापन र स्वागतले आफूलाई लोभ्याएको उनको भनाइ थियो। ‘कल्पनै नगरिएको, स्रोत साधनको कमि भएको क्षेत्रमा यो स्तरको कार्यक्रम गजब छ।' एक अर्का धावक भन्छन्।

मध्य प्रदेशबाट आएका राजेश पोरवाल ६० किलोमिटरको अल्ट्रा रनिङमा सहभागी भए। ६० बर्ष माथिको उमेर समूहमा दौडिएका उनले दक्षिण अफ्रिका र मलेसियामा म्याराथनको अनुभव रहेको बताउँदै आफू २००७ मा कैलास मानसरोवर जान आएको बेलाको भन्दा अहिले धेरै पूर्वाधार बनिसकेको बताए। उनले पर्यटनको ठूलो सम्भावना बोकेको क्षेत्र रहेको दाबी गरे।

भारतका विभिन्न क्षेत्रबाट आएका धावकहरुले ५ किमि देखि ६० किमिसम्मको दुरीको दौडमा सहभागी भएका छन्। उनीहरुका लागि गुञ्जी, नाबीलगायतका गाउँ र आर्मी क्याम्पमा बन्दोवस्तीको व्यवस्थापन गरिएको छ। सहभागीहरुका लागि नाबीगाउँमा साँस्कृतिक कार्यक्रम तथा सहभोज कार्यक्रमको आयोजना गरिएको थियो।

उत्तराखण्डको पौराणिक र आध्यात्मिक सम्पदा स्थल आदि कैलाश क्षेत्रमा अल्ट्रा–म्याराथन आयोजनाले यस क्षेत्रको पर्यटनलाई एक्सपोज गर्ने आयोजकको दाबी छ। उच्च भूभाग, कठिन मौसम र चुनौतीपूर्ण हिमालयन क्षेत्रको म्याराथनले सहभागीहरूले उल्लेखनीय साहस र फिटनेस प्रदर्शन गर्ने मौका पाएको बताएका छन्।

उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले आदि कैलाश क्षेत्रमा पहिलो हाइ अल्टिच्युडको अल्ट्रा–रन सञ्चालनमा सहभागीहरू, आयोजकहरू र स्थानीय नागरिकहरूलाई बधाई दिँदै यसलाई उत्तराखण्डको लागि गर्वको क्षण भएको बताएका छन्।
'आदि कैलाशको आध्यात्मिक तीर्थस्थलमा आयोजित ऐतिहासिक अल्ट्रा दौडले साहस र समर्पणको उदाहरण मात्र होइन, सीमावर्ती क्षेत्रमा साहसिक पर्यटन र खेलकुद संस्कृतिलाई पनि नयाँ दिशा दिन्छ’ मुख्यमन्त्रीधामीले भने, 'सीमावर्ती क्षेत्रको विकास हाम्रो प्राथमिकता छ।' पिथौरागढ जिल्लाका जिल्ला मजिस्ट्रेट९डिएम० आशिषकुमार भटगानी, धारचुलाका एसडिएम जितेन्द्र बर्मा लगायतका अधिकारीसमेत त्यहाँ पुगेका थिए ।

उच्चहिमाली क्षेत्रमा ६० किलोमिटरको दुरी ४ घण्टा ४४ मिनेटमा पार गर्दै दिगम्बर सिंहले दौड जितेका छन्। महिलातर्फ पौडी गडवालकी मिनाक्षी नेगीले ५ घण्टा ४३ मिनेटमा ६० किलोमिटर पूरा गरिन।

नेपालीपक्षलाई छैन औपचारिक जानकारी
दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले लिपुलेक क्षेत्रमा आयोजना भएको कार्यक्रम बारे औपचारिक रुपमा कुनै जानकारी नभएको बताए। उक्त कार्यक्रमका लागि नेपाली पक्षसँग कुनै समन्वय नभएको उनले बताए।

अनौपचारिक रुपमा थाहा भएअनुसार भारतको पर्यटन विभागले म्याराथन आयोजना गरेको र त्यसको तयारी भइरहेको सूचना केही दिन अघि नै थाहा भएको पौडेलको भनाइ छ। ‘हामीसँग औपचारिक जानकारी छैन, तर कार्यक्रमबारे अनौपचारिक रुपमा सूचना पाएका छौँ’ उनले भने ‘दस, बाह्र दिन अघि देखि तयारी भइरहेको थियो। तर कुनै समन्वय भने भएन।'

clock मङ्गलबार १८, कार्तिक २०८२ ०६:३९

प्रतिक्रिया