कञ्चनपुरमा धान उत्पादन बढ्यो
कञ्चनपुर । कञ्चनपुरमा यस वर्ष धान उत्पादनमा वृद्धि भएको छ। कृषि ज्ञान केन्द्र कञ्चनपुरका अनुसार गत वर्षको तुलनामा यस वर्ष धानको उत्पादकत्व शून्य दशमलव दुई प्रतिशतले बढेको छ।
कृषि ज्ञान केन्द्र कञ्चनपुरका सूचना अधिकारी धर्मबहादुर साउदले यस वर्ष गत वर्षको तुलनामा धानको उत्पादकत्वमा वृद्धि भएको बताए। उनले भने, ‘उन्नत जातको बीउ बिजन र सिँचाइ सुविधाका कारण उत्पादनमा वृद्धि भएको हो। यस वर्ष दुई लाख तीन हजार छ सय ८३ मेट्रिक टन धान उत्पादन भएको छ। गत वर्ष एक लाख ९३ हजार ९८४ मेट्रिक टन उत्पादन भएको थियो।’
कृषि ज्ञान केन्द्रले किसानलाई अनुदानमा सिचाइ सुविधा उपलब्ध नभएको ठाउँमा साना सिचाइ जडानसमेत गर्ने गरेको सूचना अधिकारी साउदले बताए। गत वर्ष ज्ञान केन्द्रले यहाँका नौ वटा स्थानीय तहमा ७७६ साना सिचाइ ९ट्युवेल० जडान गरेको थियो।
कञ्चनपुरमा ४८ हजार ४९६ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ। त्यसमध्ये ३९ हजार ६५० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध हुँदै आएको छ। हाल साना सिँचाइबाहेक महाकाली सिँचाइ आयोजना पहिलो र दोस्रो चरणबाट ११ हजार ६ सय हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध छ।
विसं २०४२ मा सुरु भई ०४८ मा सम्पन्न भएको महाकाली सिँचाइ पहिलो चरणबाट चार हजार ८०० हेक्टर र ०५२ मा सम्पन्न भएको दोस्रो चरणबाट छ हजार ८०० हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पुगेको छ। पहिलो र दोस्रो चरणको सिँचाइबाट यहाँको भीमदत्त, बेदकोट नगरपालिका र बेलडाँडी गाउँपालिकासम्म सिँचाइ सुविधा उपलब्ध छ।
समयमा नै रासायनिक मल पाउन सके धान उत्पादन अझै बढ्न सक्ने किसानहरू बताउँछन्। यहाँको बेदकोट नगरपालिका–९ सुन्दरपुरका किसान सागर रानाले यस वर्ष धान खेतीको समयमा आकाशे पानी पर्दा धान उत्पादन राम्रो भएको बताए। उनले विगतका वर्षमा बोरिङबाट रोपाइँ गर्ने गरिएको भए पनि यस वर्ष आकाशे पानी समयमा आउँदा बोरिङको प्रयोग गर्नु नपरेको बताए।
अर्का खुसी डगौराले आकाशे पानी र समयमै मलखाद उपलब्ध भएकाले धान उत्पादन वृद्धि भएको बताए। रासस
प्रतिक्रिया