दार्चुलास्थित महाकाली कोरिडोर कालोपत्रे गरिँदै

  सोमबार १७, कार्तिक २०८२ ०९:०४

दार्चुला । महाकाली कोरिडोर (ब्रह्मदेव–झुलाघाट–दार्चुला–टिङ्कर सडक) योजना अन्तर्गत पर्ने दार्चुला जिल्लामा ३० किलोमिटर सडक कालोपत्रे गर्ने काम सुरु भएको छ । यहाँको कालोपत्रे गरिने सडकखण्डलाई तीन प्याकेजमा विभाजन गरेर कालोपत्रे गर्नुपूर्व गरिने काम सुरु गरिएको हो । 

योजनाका सूचना अधिकारी एवं इन्जिनियर रामचन्द्र जैसीका अनुसार दार्चुला जिल्लामा पर्ने सलेतीदेखि बेतखण्डको १२.३ किलोमिटर र खलङ्गादेखि सुन्सेरा खण्डको १८.५ किलोमिटर सडकखण्डमा ब्याक कटिङ, भुइँ तह, सहायक तह र मुख्य आधार तह निर्माण गर्ने कार्य सुरु गरिएको छ । ४९ करोड १० लाख १३ हजार ७१३ रुपियाँमा २०७९ साल असार २० गते निर्माण कम्पनीसँग सम्झौता गरिएको हो । सो सडकको यस वर्षदेखि कालोपत्रेको काम सुरु भएको उनले बताए । 

सलेतीदेखि बेतसम्मको सडक कालोपत्रे गर्ने काम राजेन्द्र निर्माण सेवाले गरिरहेको छ भने खलङ्गादेखि चल्लेगडा खण्ड र चल्लेगडादेखि सुन्सेरासम्मको सडकखण्ड कालोपत्रे गर्ने काम सिएबी ग्वाल्लेक जेभीले गरिरहेको उनले जानकारी दिए । 

चल्लेगडा–सुन्सेरा सडकखण्ड कालोपत्रे गर्नका लागि ४२ करोड ६८ लाख ४० हजार ७३३ रुपियाँको ठेक्का टेन्डर भएको उनले बताए । सलेती–बेत सडकखण्डमा ५३ प्रतिशत, खलङ्गा–चल्लेगडा सडकखण्डमा ५६ प्रतिशत र चल्लेगडा–सुन्सेरा सडकखण्डमा २५ प्रतिशत भौतिक प्रगति भएको पनि उनले बताए । 

चालु आर्थिक वर्ष २०८२/८३ मा १० किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य रहेको तथा बजेट न्युन रहेको उनले बताए । कार्यालयलाई यस वर्ष २२ करोड ९७ लाख रुपियाँ विकास बजेट प्राप्त भएको बताइएको छ । कार्यालयलाई एक अर्ब ४९ करोड ठेक्का दायित्व रहेको उनले बताए । 

कोरिडोरले कञ्चनपुरको ब्रह्मदेवदेखिमहाकाली किनार हुँदै डडेलधुराको परशुराम नगरपालिका, भागेश्वर गाउँपालिका, बैतडीको शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका, दशरथचन्द नगरपालिका, दोगडाकेदार गाउँपालिका र दार्चुलाको लेकम गाउँपालिका, मालिकार्जुन गाउँपालिका, महाकाली नगरपालिका, दुहुँ गाउँपालिका हुँदै ब्यास गाउँपालिकाको टिङ्कर नाकासम्म छोएको छ ।   

clock सोमबार १७, कार्तिक २०८२ ०९:०४

प्रतिक्रिया