कैलालीकाे गोदावरीमा मध्यरातमा घरमै आएर मार्ने धम्की दिएपछि भागेका शेर बहादुरको मृत्यु, २ जना पक्राउ
कैलाली । कैलालीको गोदावरी नगरपालिका – १० खमैरामा मध्यरातमा घरमै आएर मार्ने भन्दै ढोका तोड्न थालेपछि पछाडिको ढोकाबाट भागेका शेर बहादुर चौधरीको मृत फेला परेका छन् । छिमेकी लोकेन्द्र मल्ल (लक्की) र उनका सहोदर भाइ डडेल्धुराको गन्यापधुराका विकास मल्लले असोज २३ गते राती २ बजे ढोकामा हान्दै मार्ने धम्की दिएपछि पछाडिको ढोकाबाट भागका शेर बहादुर असोज २४ गते घर नजिककै खोलामा मृत फेला परेका हुन ।
राती घरभित्रै मारिने डरले भागेका शेर बहादुरको शव घर नजिकै ओलानी र गोदावरी नदी मिल्ने दोभानमा फेला परेको इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी रण बहादुर चन्दले बताए ।
डिएसपी चन्दका अनुसार मृतकका भाइ रमेश चौधरी सँगै मदिरा सेवन गरेका लक्की र विकास सँग अत्तरियाको एक डान्स बारमा विवाद भएपछि शेर बहादुर आफ्नो भाइलाई लिएर घर गएका थिए । डान्स बारमा रमेशले आफूलाई कुटेको बताएपछि छिमेकी नवराज भट्ट सँगै अत्तरिया आएका मृतक शेर बहादुरले पनि आफ्नो भाइकालाई कुटेको भन्दै लक्की र विकासलाई एक दुई मुक्का हानेका थिए ।
पछि शेरबहादुरकै घरमा पुगेका लक्की र विकासले लाठीले हानेर घरको अगाडीको ढोका फुटाए पछि शेरबहादुर भागेका थिए । घरबाट भागेपछि बेपत्ता भएका शेरबहादुरको शव दोस्रो दिन फेला परेको हो ।
मृतकका आफन्तले घरको ढोकामा हान्दै मार्ने धम्की दिएका लक्की र विकासले नै शेरबहादुरलाई लखेटी लखेटी मारेको भन्दै इलाका प्रहरी कार्यालय मालाखेतीमा किटानी जाहेरी दिएका छन् ।
मृतकका भाइ रमेश चौधरीले दाइ घरबाट भाग्ने बित्तिकै पिछा गरेर उनीहरूले नै मारेर खोलामा फालेको बताए । उनले दाइको हत्या गर्नेलाई कडा कारबाही हुनु पर्ने माग समेत गरेका छन् ।
मृतककी भाइ बुहारी सलिना चौधरीले आफ्नो श्रीमानलाई पनि मार्ने धम्की दिएको भन्दै आफूहरू असुरक्षित भएको बताइन् । उनले आफ्नो जेठाजुलाई मार्नेलाई कारबाही सँगै आफ्नो परिवारको ज्यु ज्यानको सुरक्षा हुनुपर्ने बताइन् ।
डिएसपी चन्दले घटनाको अनुसन्धान जारी रहेको बताउँदै पोस्टमार्टम गरेर शव आफन्तलाई बुझाइएको बताए । उनले पोस्टमार्टम रिपोर्ट आएपछि घटनाको बारेमा थप जानकारी खुल्ने बताए ।
उनले लक्की र विकास शेरबहादुरको घरबाट फर्किएर मृतक सँगै अत्तरिया आएका नवराजको घरमा पनि पुगेर होहल्ला गर्न थालेपछि प्रहरीलाई खबर भएको र, सोही समयमा दुवै जनालाई पक्राउ गरी नियन्त्रणमा राखिएको बताए ।
नवराजले भने सोही राती लक्की र विकास आफूलाई पनि मार्न आएको हुन सक्ने बताउँदै प्रहरीलाई खबर गरेपछि ज्यान जोगिएको बताएका छन् । उनले घटना पछि गाउँ नै त्रसित भएको बताए ।
प्रतिक्रिया