नक्कली डाक्टर बनेर लाखौँ बढी ठगी गर्ने कञ्चनपुरका जैशी पक्राउ

  शुक्रबार ०८, असार २०८० ०९:५६

कञ्चनपुर । कञ्चनपुर पुनर्वास नगरपालिका–७ का मात्रिका जैशी बागमती प्रदेश ०२७ च २८८४ नम्बरको गाडीमा हुइकिन्छन्। यो गाडी भने उनले आफूले किनेका होइनन्। उनले झुक्याएर आफ्नै क्लिनिक सञ्चालन गरिरहेकी नर्सलाई ब्लाकमेलिङ गरी ४० लाख ठगी गरेका हुन्। अनुसन्धानका लागि हाल मात्रिकासँगै यो गाडी पनि जिल्ला प्रहरी परिसर काठमाडौंमा छ। 

जिल्ला प्रहरी परिसरका प्रवक्ता सीताराम रिजालका अनुसार मात्रिका जैशीले करोडौं ठगी गरेको भन्दै परिसरमा अन्य मौखिक उजुरी पनि परेको छ। उनी भन्छन्, ‘एक जना नर्सले मात्रिकाविरुद्ध ४० लाख नगदसहित अन्य रकम पनि ठगी गरेको भन्दै परिसरमा उजुरी दिएकी हुन्।’ 

प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा मात्रिकाले नर्सलाई आफू वीर अस्पतालको १२औं तहको डाक्टर हो भनेर झुक्याएका थिए। करिब १८ महिनाको प्रेम सम्बन्धमा मात्रिकाले निकै प्रलोभन दिएका थिए। युवतीलाई विश्वासमा लिन कहिले एप्रोन लगाएको फोटो त कहिले भिडियो पठाउँथे। आफू अस्पतालमा व्यस्त भएको भन्दै ढाँट्ने गर्थे। 

भक्तपुरको कौसलटारमा बस्ने जैशी यसअघि पनि २ जना प्रेमिकाको हत्या गरेको आरोपमा ६ वर्ष जेल बसेर मुक्त भएको खुलेको छ। प्रवक्ता रिजाल भन्छन्, ‘उनी कर्तव्य ज्यानसम्बन्धी कसुरमा जेल परेका थिए। २०७० सालमा कैलालीको धनगढीमा २ जना युवतीसँग प्रेम सम्बन्धमा थिए। दुई जनासँगको प्रेमलाई टिकाउन नसकेपछि उनले सामूहिक आत्महत्याको बहाना लगाएर २ जना युवतीलाई विष पिलाएका थिए। विष सेवन गरेका दुवै युवतीको मृत्यु भएको थियो।’ 

जिल्ला प्रहरी परिसरका प्रवक्ता सीताराम रिजालले मात्रिका जेलमुक्त भए पनि पुनः ठगी कार्यमा संलग्न भएको खुलेको छ। उनी भन्छन्, ‘कहिले स्वास्थ्य क्षेत्रको सामान बेचबिखनमा लाग्ने त कहिले धेरै युवतीहरूसँग सम्बन्ध बनाएर ठगी गर्थे। जैसीको टार्गेटमा पेसागत रूपमा सक्षम युवतीहरू परेको देखिन्छ।’ 

उनी पक्राउ परेको खबर सार्वजनकि भइसकेपछि अर्की एकजना युवतीले जैसीबाट १ करोड ठगिएको भन्दै मौखिक उजुरी दिएकी छन्। जैसीले धेरै युवतीबाट पैसा उठाएको हुनसक्ने प्रहरीको अनुमान छ। उनीविरुद्ध ठगीसम्बन्धी कसुरमा जिल्ला अदालत काठमाडौंबाट दिन ५ को म्याद थप अनुमति लिई जिल्ला प्रहरी परिसरबाट थप अनुसन्धान भइरहेको छ। 

प्रहरीका अनुसार जैसीले नर्स युवतीले सञ्चालन गर्ने क्लिनिकमा फोन गरेर कुराकानी गरेका थिए। आफू वीर अस्पतालको डाक्टर भएको भन्दै विवाह गर्ने प्रस्ताव राखेका थिए। सर्जिकल सामान छुटसहित मिलाउने भन्दै प्रलोभन दिएका थिए। विश्वासमा परेर प्रेम प्रस्ताव स्वीकार गरेकी नर्सले सुरुवातदेखि नै मात्रिकाले पैसाको लेनदेन गरेको देखिन्छ। कहिले पढाइ रोकिएको बहाना त कहिले चेक बाउन्स भएको बहानामा पैसा माग्थे। विवाह गर्ने प्रलोभन दिन्थे। 

गाडी किन्नका लागि पनि युवतीले ४० लाख दिएको खुलेको छ। ४० लाख बैंक मार्फत दिएकाले जाहेरवाला युवतीले प्रमाणसहित जाहेरी पेस गरेकी छन्। प्रवक्ता रिजाल भन्छन्, ‘४० लाखभन्दा अन्य रकम विभिन्न समयमा नगद तथा अन्य तरिकाले दिएको भन्ने छ। युवतीबाट जैसीले करिब ८० लाख ठगी गरेको अनुमान छ। हामीले अनुसन्धान गरिरहेका छौं। प्रारम्भिक अनुसन्धानका क्रममा जैसी डाक्टर नभएर सर्जिकल सामान बिक्री गर्ने व्यक्ति रहेको बुझिएको छ। पढाइ पनि सामान्य छ। 

clock शुक्रबार ०८, असार २०८० ०९:५६

प्रतिक्रिया