बाबुरामलाई बाहिर राखेर समाजवादी मोर्चा घोषणा हुँदै

  बिहिबार ३२, जेठ २०८० १७:४५

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई बाहिरै राखेर समाजवादी मोर्चा घोषणाको तयारी भएको छ । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी, नेपाल मिलेर समाजवादी मोर्चा घोषणा गर्ने तयारी भएको हो ।

मोर्चामा पूर्वप्रधानमन्त्री भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीलाई भने बाहिरै रहने लगभग पक्का भएको छ । मोर्चामा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई पनि सामेल गराउने प्रयास पनि भइरहेको छ । माओवादी केन्द्रका सचिव लिलामणि पोखरेलले मोर्चा घोषणाको तयारी भइरहेको बताए ।

 "मोर्चा घोषणा गर्ने तयारी भइरहेको छ । तर, कहिले गर्ने भन्ने टुंगो लागेको छैन," उनले भने । नेकपा एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडा भने समाजवादी मोर्चा घोषणा भोलि (शुक्रबार) नै हुने दाबी गर्छन् ।  

शिलापत्रसँग कुराकानी गर्दै खतिवडाले भने, "चार पार्टीसहितको समाजवादी मोर्चा भोलि नै घोषणा गर्ने तयारी छ । ठूलै केही भएन भने भोलि घोषणा गर्ने तयारी छ । हाम्रो पार्टीको सचिवालय बैठक पनि बिहानका लागि बोलाएका छौँ । त्यहीबाट समाजवादी मोर्चामा सहभागी निर्णय गर्छौँ ।"

जसपाका नेता राजकिशोर यादवले पनि मोर्चा घोषणाको तयारी भइरहेको बताए । "छलफल भइरहेको छ । तयारी पनि भएको छ । सम्भव भएसम्म छिट्टै समाजवादी मोर्चा घोषणा हुन्छ," उनले भने । 

clock बिहिबार ३२, जेठ २०८० १७:४५

प्रतिक्रिया