एसईईको नतिजा सुधार गरेको भन्दै धनगढीका सामुदायिक र संस्थागत विद्यालय सम्मानित

  शुक्रबार २७, असार २०८२ ०८:४३

धनगढी । धनगढी उपमहानगरपालिकाले एसईईको नतिजामा सुधार गरेको भन्दै सामुदायिक र संस्थागत विद्यालयहरूलाई सम्मान गरेको छ । एक औपचारिक कार्यक्रम आयोजना गरी परीक्षामा सहभागी भएका २६ वटा सामुदायिक विद्यालय र ४६ वटा संस्थागतका प्रधानाध्यापकहरूलाई सम्मान गरिएको हो ।

सम्मान कार्यक्रममा सामुदायिक विद्यालयबाट ४ जिपिए ल्याउने त्रिभुवन माध्यमिक विद्यालयका छात्र अशोक अवस्थीलाई समेत सम्मान गरिएको छ । उप–प्रमुख कन्दकला कुमारी रानाले प्रधानाध्यापक र छात्र अवस्थीलाई माला लगाएर सम्मान गुर्न भएको हो ।

धनगढीका सामुदायिक विद्यालयको २०८० को एसईईमा २६ दशमलव ९७ प्रतिशत उत्तीर्ण भएका थिए भने २०८१ को नतिजा सुधार गर्दै ५४ दशमलव ७४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको उपमहानगरपालिकाले जनाएको छ ।
सम्मान कार्यक्रममा सत प्रतिशत नतिजा हासिल गर्न सफल धनगढी–१४ को सर्वोदय माध्यमिक विद्यालय, ९३ दशमलव ५ प्रतिशत नतिजा ल्याउने धनगढी ९५ हसनपुरको पञ्चोदय माध्यमिक विद्यालय र ७८ दशमलव ९५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको धनगढी ९३ को त्रिभुवन माध्यमिक विद्यालयलाई सम्मान गरिएको हो । धनगढीका २६ सामुदायिक विद्यालय मध्ये २३ विद्यालयले गत वर्षको तुलनामा नतिजामा व्यापक सुधार गरेको उपमहानगरपालिकाले जनाएको छ ।

धनगढीका ४६ वटा संस्थागत विद्यालयहरू सम्मानित

धनगढी उपमहानगरपालिकाले संस्थागत विद्यालयहरूलाई सम्मान गरेको छ । एक औपचारिक कार्यक्रम राखेर नगरका ४६ वटा संस्थागत विद्यालयहरूलाई सम्मान गरेको हो ।

२०८१ को एसईईको नतिजामा सुधार गरेको भन्दै संस्थागत विद्यालयहरूलाई सम्मानित गरिएको उप– प्रमुख कन्दकला कुमारी रानाले बताउनुभयो । “शैक्षिक उपलब्धि महत्त्वपूर्ण विकासको सूचक हो । मेहनत गरी प्रतिस्पर्धाको माध्यमबाट उत्कृष्टता हासिल गर्नुभएकोमा सबै विद्यालयलाई शुभकामना छ,“ उहाँले भन्नुभयो ।

संस्थागत तर्फ सात विद्यालयको सत प्रतिशत नतिजा
धनगढीका ४६ संस्थागत विद्यालय २०८१ को एसईईमा सहभागी भएका थिए । परीक्षामा सात संस्थागत विद्यालयबाट सत प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

धनगढी–८ क्याम्पस रोडको थ्री स्टार्स अङ्ग्रेजी आवासीय माध्यमिक विद्यालय, धनगढी–८ कान्तिपुर टोलको डिस्कभरी अङ्ग्रेजी आवासीय विद्यालय, धनगढी–४ उत्तरबेहडीको गुरूकूल अङ्ग्रेजी आवासीय माध्यमिक विद्यालय, धनगढी–१३ को किङ्गफिसर अङ्ग्रेजी आवासीय माध्यमिक विद्यालय, धनगढी–५ हसनपुरको वाल्मीकि अङ्ग्रेजी माध्यमिक विद्यालय, धनगढी–३ विशालनगरको सिटी स्कुल र धनगढी–७ देवहरियाको साइपाल शिक्षा सदनले सतप्रतिशत नतिजा हासिल गरेका हुन् ।

धनगढीका संस्थागत विद्यालयबाट २०८० को एसईईमा ६८ दशमलव ३७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । २०८१ मा नतिजामा थप सुधार गर्दै ८७ दशमलव ४६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको उपमहानगरपालिकाले जनाएको छ।

२०८१ को एसईईमा धनगढीका चार जना विद्यार्थीले ४ जिपिए ग्रेड हासिल गरेका छन् । संस्थागत तर्फ एरिष्टो माध्यमिक विद्यालयका गौरव उपाध्याय र प्रदिप गिरी तथा धनगढी–२ बैयाँबेहडीको जेसिस एभरेष्ट माध्यमिक विद्यालयका छात्र जस्टिन चन्दले ४ जिपिए हासिल गरेका हुन् ।


 

clock शुक्रबार २७, असार २०८२ ०८:४३

प्रतिक्रिया