कैलालीको घोडाघोडी नगरपालिकाले गर्यो उत्कृष्ट नतिजा ल्याउनेलाई सम्मान
धनगढी । कैलालीको घोडाघोडी नगरपालिकाले उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी तथा विद्यालयलाई सम्मान गरेको छ।
नगरपालिका कार्यालयमा बुधवार आयोजित सम्मान कार्यक्रममा नगरपालिका भित्र कक्षा आठ र माध्यमिक शिक्षा परीक्षा (एसइई) मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी तथा विद्यालयका प्रधानाध्यापकलाई नगदसहित प्रमाणपत्रले सम्मान गरेको हो।
सम्मानित हुनेमा संस्थागततर्फ पायोनियर स्कलर्स एकेडेमी, पिसलाइट इङलिस बोर्डिङ स्कुल रहेका छन् भने सामुदायिक विद्यालय तर्फ ज नज्योति माध्यमिक विद्यालय र छडी माध्यमिक विद्यालय रहेका छन्।
छडी र पिसलाइट विद्यालयले कक्षा आठमा उत्कृष्ट नतिजा ल्याउन सफल भएको हो भने ज नज्योती र पायोनियरले एसइईमा उत्कृष्ट नतिजा ल्याएको छ। पायोनियर विद्यालयमा २८ जनाले एसइई दिएकोमा २७ जना पास भएका छन्।
जसमध्ये आठ जना ए प्लस, ११ जना ए ग्रेड ल्याउन सफल भएको विद्यालयका प्रधानाध्यापक कुलप्रसाद भट्टले बताए। उक्त विद्यालयबाट रक्षा बुढाले चार जिपीए ल्याई नेपालमै उत्कृष्टको लिस्टमा पर्न सफल हुनुभएका छन्।
त्यसैगरी ५१ वटा सामुदायिक विद्यालय रहेको घोडाघोडी नगरमा जन ज्योति माध्यमिक विद्यालय जनकपुरले ७६ प्रतिशत नतिजासहित एसइई नतिजामा उत्कृष्ट विद्यालयको रूपमा रहेको छ । उक्त विद्यालयमा ५१ जना एसइई परीक्षा दिएकामध्ये ४१ जना पास भएका छन्।
उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी तथा विद्यालयलाई सम्मान गर्दै घोडाघोडी नगरपालिकाका नगर प्रमुख खडकबहादुर रावतले नगरको शिक्षामा विगतमा भन्दा सुधार हुँदै गएको बताए। उनले नगरपालिकाको बजेटमा समेत शिक्षालाई प्राथमिकतामा राखेर विद्यालयको भौतिक सुधारदेखि गुणस्तर सुधारमा ध्यान दिएको बताए।
प्रतिक्रिया