सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को सदस्य सचिवमा खड्का नियुक्त

  बिहिबार २९, जेठ २०८२ १८:०६

धनगढी । सुदूरपश्चिम प्रदेश खेलकुद परिषदको सदस्य सचिवमा लोकबहादुर खड्का (रवि) नियुक्त भएका छन् ।

 

सामाजिक विकास मन्त्रालयको सिफारिसमा प्रदेश मन्त्रिपरिषद्को बैठकले खड्कालाई सदस्य सचिवमा नियुक्त गरेको प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीले बताए । आजै सपथ ग्रहण गर्ने कार्यक्रम रहेको बताइएको छ ।

 

खड्का फुटबल र हक्कीका पूर्वखेलाडी हुन् । उनले आधा दर्जन बढी राष्ट्रिय फुटबल प्रतियोगिता खेलिसकेका छन् भने एउटा राष्ट्रिय हक्की खेल पनि खेलेका थिए ।

 

कैलाली जिल्ला कुस्ती संघका अध्यक्ष भइसकेका खड्का क्रिकेट विकास समिती क्षेत्र नम्वर ९ का कोषाध्यक्ष पनि थिए । तत्कालीन क्षेत्रीय खेलकुद विकास समितिको सदस्य भएर पनि खड्काले काम गरिसकेको अनुभव छ ।

 

झण्डै तीन महिनादेखि सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को सदस्य सचिव पद रिक्त थियो । ०७७ चैतमा चार वर्षका लागि खेलकुद परिषद्को सदस्य सचिवमा दीपकबहादुर सिंह नियुक्त भएका थिए । उनको कार्यकाल ९ चैतदेखि सकिएको थियो ।

clock बिहिबार २९, जेठ २०८२ १८:०६

प्रतिक्रिया