तराई भेगमा अझै पाँच दिन तातो हावा चल्ने

  मङ्गलबार ३०, जेठ २०८० १०:२७

धनगढी । देशका पहाडी भेगमा वर्षा भएर गर्मीबाट राहत मिल्न थाले पनि तराइमा भने अझै केही दिन गर्मी बढ्ने र तातो हावा चल्ने चेतावनी मौसम पूर्वानुमान महाशाखाले दिएको छ ।

तराई क्षेत्रमा आगामी पाँच दिनसम्म तातो हावा चल्ने सम्भावना रहेको भन्दै महाशाखाले त्यसबाट बच्न आवश्यक सतर्कता अपनाउन भनेको छ ।

महाशाखाले निकालेको विशेष बुलेटिनमा अबका पाँच दिन तराईका धेरैजसो भू–भागमा अधिकतम र न्यूनतम तापक्रम बढ्दै जाने देखिएकाले तातो हावाबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

तापक्रम ४० डिग्रीभन्दा माथि निरन्तर रहेमा तातो हावा चल्ने र त्यसबाट लू लाग्नसक्ने भएकाले सतर्कता अपनाउन भनिएको हो । साथै पहाडी भू–भागका उपत्यका तथा खोंचहरूमा समेत तापक्रम बढ्न सक्ने पनि महाशाखाले जनाएको छ ।

काठमाडौँ उपत्यकालगायत पहाडी क्षेत्रका खोंचहरुमा पनि पनि तापक्रम बढिरहेको भन्दै महाशाखाले सतर्कताका लागि अनुरोध गरेको छ । तातो हावाका कारण लू लागेमा थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, हातखुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेसी दुख्ने, बान्ता हुनेलगायतका समस्या हुनसक्छ ।

लूबाट बच्नका लागि दिउँसोमा घर बाहिर ननिस्कने र पानी तथा जुस पिउनु पर्ने चिकित्सकहरुले बताएका छन् ।

clock मङ्गलबार ३०, जेठ २०८० १०:२७

प्रतिक्रिया