सुदूरपश्चिम सरकारको आगामी आर्थिक वर्ष २०८२÷०८३ को नीति तथा कार्यक्रम प्रस्तुत

  शुक्रबार १६, जेठ २०८२ १८:१९

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२÷०८३ को नीति तथा कार्यक्रम प्रस्तुत भएको छ । प्रदेशसभाको छैठौ अधिवेशनको चौथो बैठकमा प्रदेश प्रमुख नाजिर मियाँले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममा प्रादेशिक विकासका योजनालाई प्राथमिकता दिने उल्लेख छ । एक सय वटा उच्च प्रतिफलयुक्त आयोजना छनोट गरी कार्यान्वयन गर्ने तथा प्रदेश गौरवका आयोजना र बहुवर्षीय आयोजनालाई प्राथमकिता दिएर कार्यान्वयन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

 

उद्यमशीलता विकासमार्फत् प्रदेशको बेरोजगारी, गरिबी न्यूनीकरण गर्ने खालका योजना तथा कार्यक्रममा पनि प्राथमिकता दिइने बताइएको छ । लगानी नभएका तर केही नयाँ उपाय र उर्जा भएका उद्यमीलाई सहुलियत ब्याजमा कर्जा प्रवाह गर्न स्टार्टअप कार्यक्रम सञ्चालन गर्ने, श्रमिकको माग र आपूर्तिबारे सर्वेक्षण गर्दै रोजगार पोर्टल सञ्चालन गर्ने र मुख्यमन्त्री गरिबी निवारण तथा लघुउद्यम कार्यक्रम सञ्चालन गर्ने विषय पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।

 

बौद्धिक अपाङगता भएका बालबालिकाका लागि आवासिय विद्यालय सञ्चालन गर्ने, कैलालीको टीकापुरमा विज्ञान तथा प्रविधि विश्वविद्यालय सञ्चालन गर्ने, प्रत्येक जिल्लामा एक÷एक नमुना क्याम्पस सञ्चालन गर्ने, प्रदेश खेलकुद नीति बनाउँदै खेल क्षेत्रको प्रवद्र्धन गर्ने, उत्कृष्ट खेलाडीलाई सम्मान र प्रोत्साहन गर्ने, खेल विद्यालय सञ्चालन गर्ने, एक जिल्ला एक क्रिकेट मैदान निर्माण गर्ने कार्यक्रम पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।

 

यस्तै, अघिल्ला वर्ष जस्तै सुदूरपश्चिम प्रदेशको राजधानीमा पूर्वाधार निर्माण प्रक्रिया अगाडि बढाइने विषय पनि नीति तथा कार्यक्रममा समावेश गरिएको हो । डडेल्धुराको जोगबुढा, दार्चुलाको गोकुलेश्वर, कञ्चनपुरको बेलौरी लगायतका अस्पताललाई प्रदेशस्तरको बनाउने, प्रदेश लगानी तथा विकास सम्मेलनको आयोजना गर्ने, एक जिल्ला एक कृषिजन्य उद्योग स्थापना गर्ने, बाकाबिर पर्यटन प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्ने र आयुर्वेदिक औषधि उत्पादन केन्द्र स्थापना गर्ने विषय पनि नीति तथा कार्यक्रममा छ । नीति तथा कार्यक्रममा प्रदेशसभा सदस्यहरुको बीमा गर्ने पनि उल्लेख छ ।

 

clock शुक्रबार १६, जेठ २०८२ १८:१९

प्रतिक्रिया