राजस्व कार्यालय कञ्चनपुरले कर नबुझाउनेलाई कारबाही गर्दे
कञ्चनपुर । आन्तरिक राजस्व कार्यालय, कञ्चनपुरले लामो समयदेखि कर नबुझाउने ६५ करदारतामाथि कारबाही अगाडि बढाएको छ । पटक पटक कर दाखिलाका लागि आग्रह गरिए पनि अटेरी गर्ने करदातामाथि कारबाही अगाडि बढाइएको उक्त कार्यालयले जनाएको हो ।
आर्थिक वर्ष २०८०र८१ मा २५ करदाताउपर कारबाही गरिएको आन्तरिक राजस्व कार्यालय कञ्चनपुरका प्रमुख कर अधिकृत डमरुप्रसाद पराजुलीले बताउनुभयो । विभिन्न माध्यमबाट पटक पटक ती करदातालाई कर बुझाउन आग्रह गरे पनि अटेरी गरेपछि उनीहरूको बैङ्क खाता रोक्का गरिएको पराजुलीले बताउनुभयो । आन्तरिक राजस्व कार्यालयले ती करदाताबाट चार करोड ९१ लाख २३ हजार रुपियाँ असुल गर्न बाँकी छ ।
यस्तै चालु आव २०८१र८२ को हालसम्म कर नबुझाउने ४० करदातामाथि पनि कारबाही प्रक्रिया अगाडि बढाइएको उक्त कार्यालयले बताएको छ । मूल्य अभिवृद्धि कर नबुझाउने ४० करदाताको नाम अन्तिम पटक पत्रपत्रिकामा सार्वजनिक गर्दा समेत कर बुझाउन नआएकाले उनीहरूउपर पनि कारबाही प्रक्रिया अगाडि बढाइएको प्रमुख कर अधिकृत पराजुली बताउनुहुन्छ ।
राजस्व कार्यालयले ४० करदाताबाट तीन करोड ३१ लाख ५५ हजार रुपियाँ बक्यौता असुल गर्न बाँकी छ । दर्ता भएर पनि लामो समयदेखि कर नबुझाउने करदाताको अभिलेख तयार गरेर बैङ्क खाता, आयात निर्यात र सम्पत्ति रोक्काका लागि कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको उक्त कार्यालयका सूचना अधिकारी विजय भुसालले बताउनुभयो ।
सूचना अधिकारी भुसालले भन्नुभयो, “पटक पटक कर बुझाउन मौखिक र पत्राचार गरिए पनि आलटाल गर्ने करदातामाथि कारबाही अघि बढाएका छौँ, त्यही भएर हामीले करदाताको बैङ्क खाता, कारोबार, घरजग्गा र आयात निर्यात रोक्काका लागि प्रक्रिया अघि बढाएका छौँ ।” कानुनी प्रक्रिया अघि बढाएपछि केही करदाता कर बुझाउनसमेत आउने गरेको उहाँको भनाइ थियो ।
आन्तरिक राजस्व कार्यालय कञ्चनपुरले चालु आव २०८१र८२ को १० महिनाको अवधिमा एक अर्ब ८१ करोड १३ लाख ६५ हजार रुपियाँ राजस्व सङ्कलन गरेको छ । यो लक्ष्यको ७५।८७ प्रतिशत सङ्कलन गरिएको हो ।
प्रतिक्रिया