सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका नासु विष्टविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा कार्यरत नायव सुब्बा पूर्णसिंह विष्टविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
विष्टले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी डोटीको दिपायल सिलगढी नगरपालिका-५ पुन्नामा रहेको प्रतिष्ठानमा नासु पदमा नियुक्ति लिएको आरोपमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
विष्टले प्रतिष्ठानमा नियुक्ति लिन एसएलसीको नक्कली प्रमाणपत्र पेस गरेको उजुरी अख्तियारमा परेको थियो ।
सोही उजुरीको आधारमा अनुसन्धान हुँदा विष्टले भारतको माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश अन्तर्गतको जीएनके इन्टरमिडियट कलेज, कानपुरबाट हाइस्कुल उत्तीर्ण गरेको भनी झुट्टा प्रमाण-पत्र पेस गरेको पाइएको अख्तियारको आरोप छ ।
अख्तियारका अनुसार विष्टले स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान, जावलाखेलबाट कार्यालय सहायक (सहायक द्वितीय प्रशासन) पदमा नियुक्ति लिएका थिए ।
कैद र जरिवाना मागदाबीसहित उनीविरुद्ध बिहीबार विशेष अदालतमा आरोपपत्र दायर भएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।
प्रतिक्रिया