कैलालीमा सडकमै सुत्केरी व्यथा लागेर छटपटाइरहेकी महिलाको उद्धार
धनगढी । कैलालीको गोदावरीमा सडकमै सुत्केरी व्यथा लागेर छटपटाइरहेकी महिलाको उद्धार गरिएको छ । गोदावरी नगरपालिका – १ वसन्तपुरमा कोठा भाडामा बस्दै आएकी बझाङको थलारा गाउँपालिकाकी २४ वर्षीय चन्द्रा आचार्यको उद्धार गरिएको हो ।
इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी रण बहादुर चन्दका अनुसार सुर्खेतको भेरीगंगा नगरपालिका – ८ की चन्द्रा बझाङका डम्बर जोशी सँग भागी विवाह गरेर अत्तरियामा बस्दै आएकी थिइन । उनका श्रीमान् भारतमा रोजगारीमा गएका बेला सुत्केरी व्यथाले च्यापेपछि अस्पताल आउने क्रममा बाटोमै अलपत्र अवस्थामा परेकी थिइन् ।
बाटोमा सुत्केरी व्यथाले च्यापेको अवस्थामा फेला परेकी चन्द्राको पदमा अस्पतालबाट गएको चिकित्सकको टोलीले सुत्केरी गराई अहिले अस्पतालमा भर्ना गराइएको डिएसपी चन्दले बताए । स्थानीयले खबर गरेपछि प्रहरी टोली घटनास्थलमा पुगेर एम्बुलेन्स बोलाएको डिएसपी थापाले बताए ।
सडकमै सुत्केरी व्यथा लागेर छटपटाइरहेकी महिलाको नजिकको घरमा लगेर सुत्केरी गराइएको थियो ।सुत्केरी महिला र बच्चालाई इलाका प्रहरी कार्यालय मालाखेती अन्तर्गत खैराना प्रहरी चौकीमा कार्यरत प्रहरी जवान चन्द्रिका देउवाले सहयोग गरेकी थिइन् । उनले सहयोग गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
पदमा अस्पतालका डाक्टर नर बहादुर मौनीले पदमा अस्पतालबाट स्त्री रोग विशेषज्ञ गणेश जोशी सहितको टोली गएर महिलालाई सुत्केरी गराइ अस्पताल भर्ना गरिएको बताए । उनले महिलाको साल अड्किएकाले केही जटिल भए पनि अहिले बच्चा र आमाको अवस्था सामान्य रहेको बताए ।
प्रतिक्रिया