दार्चुलामा चट्याङ लागेर दुई जना घाइते, गाई र खसी मरे
दार्चुला । दार्चुलामा चट्याङ लागेर दुई जना घाइते भएका छन् । सोमबार बेलुकी घरमै चट्याङ लागेर महाकाली नगरपालिका–६ निसिलका अठार वर्षीय जनकसिंह धामी र सोही ठाउँ बस्ने छ वर्षीय दिवान्स धामी घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
निसिलका पदमसिंह धामीको घरको पर्खालमा चट्याङ परेर उनीहरू घाइते भएको प्रहरी चौकी धापका प्रहरी सहायक निरीक्षक दीपेन्द्रसिंह साउँदले जानकारी दिनुभयो । घाइते दुवै जनाको जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
चट्याङ लागेर घरको गोठमा रहेको एक गाई र एक खसीको मृत्यु भएको बताइएको छ । यस्तै हावाहुरीका कारण जिल्ला सदरमुकाम खलङ्गा बङ्गाबगर स्थित लास्कु बस्ने कल्याणसिंह कुँवरको घरमा रुख खस्दा सामान्य क्षति भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय गोकुलेश्वरका अनुसार शैल्यशिखर नगरपालिका–५ ठुलिसैन स्थित हावाहुरीको कारण बिजुलीको पोल र सल्लाका रुख ढलेका छन् ।
प्रहरी चौकी रातामाटाका अनुसार लेकम गाउँपालिका–४ खरकडा स्थित गल्ला केदार माध्यमिक विद्यालयका तिन वटा र लेकम गाउँपालिकाका तिन वटा सोलर प्यानल हावाहुरीले उडाएर क्षति गरेको छ । इलाका प्रहरी कार्यालय लालीका अनुसार हावाहुरीले लेकम गाउँपालिका–३ मकन्नाका वासुदेव जोशीको दुई कोठे घरको छाना उडाएको छ । यसैबिच हावाहुरीकै कारण बिजुलीका पोलहरू ढलेपछि जिल्ला सदरमुकाम खलङ्गा लगायतका स्थानहरूमा विद्युत् आपूर्ति बन्द भएको छ ।
गोकुलेश्वर, ठुलीसैनी, पासादेउ, गोठिउडी, सिलचोकमा दुई पोल तथा तारमा क्षति हुँदा विद्युत् आपूर्ति बन्द भएको नेपाल विद्युत् प्राधिकरण दार्चुला वितरण केन्द्रले जनाएको छ । लेकम गाउँपालिकाको लाली स्थित खिम्तडमा पाच पोल, रातामाटामा दुई पोल, जौलजिबीको नेपाल टेलिकम र डाडाकोट जाने लाइनमा पाच पोलमा क्षति भएको छ ।
सोमबार बेलुकी आएको हावाहुरी असिना पानीले विभिन्न स्थानहरूमा रूख ढलेर विद्युत् लाइनमा परी एघार केभि, तेत्तिस केभि र एलटि लाईनको विद्युत् संरचनामा क्षति भएको केन्द्रले जनाएको छ । अवरुद्ध विद्युत् लाईन मर्मत कार्य गरी छिटो विद्युत् आपूर्ति सुचारु गर्ने प्रयास भइरहेको छ । दार्चुला वितरण केन्द्रले जनाएको छ ।
प्रतिक्रिया