कृष्णपुर नगरपालिकाले ८१ जना भलमन्सा तथा पधनालाई पठायो तिर्थ यात्राका लागि अयोध्या
कन्चनपुर । कन्चनपुरको कृष्णपुर नगरपालिकाले ८१ जना भलमन्सा तथा पधनालाई भारतको अयोध्यामा तिर्थयात्रा भ्रमणका लागि पठाएको छ । विश्व हिन्दु परिषद नेपालको आयोजित कृष्णपुर नगरपालिकाको सहयोगमा ८१ जना भलमन्सा तथा पधनालाई भारतको अयोध्यामा तिर्थयात्राका लागि पठाएको हो ।
नगरपालिकाका अनुसार गाउँमा अगुवा भएर गाउँकै सेवा गर्दै तिर्थ जाने इच्छा भएपनि विभिन्न कारणले जान नसकेका भलमन्सालाई यो विशेष अवसर उपलब्ध गराइएको हो । आर्थिक अभाव, समय अभाव, वा अन्य व्यक्तिगत कारणले तिर्थ यात्रा गर्न नपाएका व्यक्तिहरुलाई धार्मिक स्थलहरूमा पु¥याउने योजना अन्तर्गत यस कार्यक्रमको आयोजना गरिएको हो ।
पालिकाले विदाई कार्यक्रमको आयोजना गरी भलमन्सा लाई बिधिवत् रूपमा खादा, फूलमाला र टीका लगाई बिदाई गरिएको थियो । उक्त भ्रमणमा कंचनपुर जिल्ला समन्वय समितीका उप–प्रमुख राम कुमारी राना, कृष्णपुर नगर उप–प्रमुख द्रोपती राना, कृष्ण्पुर ५ का वडा अध्यक्ष टेक पाण्डेय पनि सहभागी रहेका छन ।
नगरपालिकाका प्रमुख हेमराज ओझाले कार्यक्रमको महत्वबारे प्रकाश पार्दै भने, “हाम्रा भलमन्साले जीवनभर समाज र परिवारका लागि धेरै योगदान दिनुभएको छ । यो तिर्थ यात्रा तिनै आमाबुवाहरूको सपना साकार पार्ने हाम्रो प्रयास हो ।“
प्रतिक्रिया