तराई र पहाडमा अधिक गर्मी
काठमाडौँ । नेपालमा पहिले कायम भएको उच्च तापक्रमको रेकर्ड हालैको तापलहरका कारण यस वर्ष धमाधम तोडिन थालेको छ। तातो हावा र लू एकसाथ नेपालको वायुमण्डलमा चलायमान भएकाले नेपालमा तापलहरको तीव्र अवस्था सिर्जना भएको हो।
यसअघि भएका रेकर्ड तोडिने क्रम तराईमा मात्र नभई पहाडका विभिन्न भूभागमा पनि जारी रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। जलवाष्प नभएको सुक्खा तातो हावा र लूको दोहोरो चाप नेपालको मौसममा परिरहेकाले पहिलेका उच्च तापक्रमको रेकर्ड तोडिन थालेको विभागका उपमहानिर्देशक डा। अर्चना श्रेष्ठले बताए।
तापक्रमको पहिलो ‘रेकर्ड ब्रेक’ मध्य तराईको नवलपरासीको दुम्कौली र पहाडी क्षेत्रको ओखलढुङ्गामा एकैदिन भएको मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो। उहाँका अनुसार तापक्रम ब्रेक हुन पहिले कायम भएको तापक्रमभन्दा माथिको तापक्रम लगातार तीनदेखि पाँच दिनसम्म कायम हुनुपर्ने मापदण्ड रहन्छ।
त्यही अनुसार लगातार तीन दिनसम्म ४३.८ डिग्री सेल्सियस कायम रहँदै दुम्कौलीमा बुधबार अर्थात् जुन ७ तारिखमा यसअघिको तापक्रमको रेकर्ड ब्रेक भएको हो। शुक्रबार त्यहाँ ४४ डिग्री सेल्सियस पुगेको छ। त्यस क्षेत्रमा यसअघि सन् १९७९ जुन ५ तारिखमा अधिकतम तापक्रम ४३.७ डिग्री सेल्सियस कायम भएको थियो। बिहीबार मोरङको कानेपोखरीमा पनि ४४ डिग्री सेल्सियस मापन भएको थियो।
त्यस्तै चिसो हावापानी भएको मानिने ओखलढुङ्गामा तापक्रम बढ्दै बुधबार रेकर्ड ब्रेक हुँदै अधिकतम तापक्रम ३१.३ डिग्री सेल्सियस रेकर्ड भयो। यसअघि त्यस क्षेत्रमा सन् १९९९ अप्रिल २८ तारिखमा अधिकतम तापक्रम ३०।९ डिग्री रेकर्ड भएको थियो।
त्यस्तै इलामको कन्याम चिया बगानमा पनि गत सोमबार हालसम्मकै अत्यधिक तातो ३० डिग्री रेकर्ड भएको छ। त्यहाँ यसअघि सन् १९७३ जुलाई १० तारिखमा २९ डिग्री सेल्सियस अधिकतम तापक्रम रेकर्ड भएको थियो।
धरान बजारमा पनि यसअघि सन् २०१३ अप्रिल १२ तारिखमा ३८.८ डिग्री सेल्सियस अधिकतम तापक्रम रहेकोमा गत बुधबार ३९.३ डिग्री सेल्सियस पुग्यो। नेपालगन्ज, धनगढी, जनकपुर, विराटनगर, सिमरा, भैरहवा, कपिलवस्तुलगायतका स्थानमा उच्च तापक्रमको दर बढ्ने क्रममा रहेकाले पुरानो रेकर्ड ब्रेक हुने उच्च सम्भावना देखिएको मौसमविद् कँडेलले बताउनुभयो। नेपालमा अहिलेसम्म सन् १९९९ को जुन ५ मा धनगढीमा रेकर्ड भएको ४६.४ डिग्री सेल्सियस सबैभन्दा उच्च तापक्रम हो।
तापलहर दोहोरिने
यस वर्ष तापलहर दोहोरिने सम्भावना पनि उच्च रहेको छ। मनसुनमा पनि कम वर्षा हुने अनुमान गरिए अनुसार मनसुनकैबिचमा तापलहर दोहोरिने सम्भावना बढेको उपमहानिर्देशक डा. अर्चना श्रेष्ठले औँल्याउनुभयो। त्यो समयमा पनि विभिन्न क्षेत्रका अधिकतम तथा न्यूनतम दुवैथरीका तापक्रमको रेकर्ड ब्रेक हुन सक्ने सम्भावना कायम रहनेछ।
श्रेष्ठका अनुसार केरला आइपुगेको मनसुनको न्यूनचापीय रेखा नेपाल भित्रिन अझै एक साता लाग्ने अनुमान गरिएको छ। उहाँले भन्नुभयो, “एक साताको यात्रापछि अनु्मानित जुन १६ मा मनसुन नेपाल भित्रने सम्भावना छ।” त्यो दिनदेखि करिब एक साता नेपालमा वर्षा हुनेछ।
अरब सागरमा विकास भएको एलनिनो प्रणालीले वर्षाको निरन्तरता भङ्ग गर्नेछ। जलवाष्पबाहेकको सुक्खा हावा मात्र नेपालमा भित्र्याउन सघाउने भएकाले वर्षामा सोझै असर पर्छ। तथापि बङ्गालको खाडीमा विकास हुने न्यूनचापीय प्रणाली बलियो भएको खण्डमा एलनिनो मौसमी प्रणालीको असर थोरै कम हुन सक्छ। नेपालमा मनसुन राम्रो हुन अरब सागरको लानिनो मौसमी प्रणाली हुनुपर्छ।
विपत् प्रतिकार्यको तयारी
तापलहरको विपत्ले ल्याउन सक्ने सम्भावित जोखिम उच्च बनेकाले नेपाल सरकार त्यसको तयारीमा जुटेको छ। नेपालको पहाड र तराईमा एकसाथ तातो हावा र लू चल्ने क्रम दोहोरिएसँगै सरकार सम्भावित विपत्को प्रतिकार्यमा जुटेको हो।
शुक्रबार राजधानीमा आयोजित विपत् संवादमा विभिन्न सरोकारवाला निकायले जनधनको क्षतिको कारक, पूर्वानुमान र त्यसको न्यूनीकरणका उपायबारे आफ्नो भूमिकाको खोजी गरेका हुन्। तापलहरको प्रतिकार गर्न आवश्यक तयारी गर्न सरकारले उच्च तयारी गर्नकै लागि कार्यसूची बनाएर काम थालिएको जानकारी राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले दिनुभयो।
आपत्कालीन अवस्था आएको खण्डमा के गर्ने भनेर गृह मन्त्रालय पनि सतर्क बनेको छ, सानो समूह बनाएर विपत्को सामना गर्ने थप गृहकार्यमा जुटेको छ। उहाँले समूहले तयार गर्ने तापलहर प्रतिकार्य योजना गृहमन्त्रीस्तरीय कार्यकारी परिषद्मा लगिने र त्यसको कार्यान्वयन स्थानीय तहसम्म गर्न अर्को तयारी गर्ने बताए।
सतर्कता अपनाउन सुझाव
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गर्मीयाममा बिरामी बढ्न सक्ने भन्दै सतर्कता अपनाउन सुझाव दिएको छ। गर्मी मौसममा विभिन्न रोग लाग्ने भन्दै मन्त्रालयले स्वास्थ्यकर्मीलाई २४ सै घण्टा परिचालन गर्ने व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ।
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले गर्मीमा झाडापखाला, सर्पदंश, आगलागी, लू, उच्च ज्वरोलगायतका समस्या देखापर्ने भन्दै सङ्घीय, प्रादेशिक तथा स्थानीयस्तरका अस्पताललाई स्वास्थ्य सतर्कता अपनाउन निर्देशन दिइएको बताए।
हाल तराई क्षेत्रलगायत देशका मध्यपहाडी जिल्लामा लू, सर्पदंश, डेङ्गुलगायतका समस्या बढेको छ। उहाँले अस्पतालले आवश्यकता अनुसारको उपचार व्यवस्था, औषधी, स्वास्थ्य उपकरण, वातानुकूलितसहितको उपचारकक्ष तयारी अवस्थामा राख्न निर्देशन दिएको जानकारी दिए।
गर्मीयाममा लाग्ने रोग तथा विपत्जन्य अवस्था हुनबाट पूर्वसतर्कता अपनाउन स्थानीय स्तरका एफएम, पत्रपत्रिकामार्फत सूचना सम्प्रेषण गर्न र पीडितको उपचारका लागि विशेषज्ञ चिकित्सकसहितको प्रभावकारी उपचार सेवा प्रदान गरी आमनागरिकको जीवन रक्षामा २४ सै घण्टा स्वास्थ्यकर्मी परिचालन गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको बताए।
डा। अधिकारीले स्वास्थ्यमन्त्रीको स्थलगत निरीक्षणका क्रममा अस्पतालमा स्वच्छ पिउने पानी, उपयुक्त सरसफाइ तथा सङ्क्रमण हुनबाट सुरक्षित गर्न तापक्रम व्यवस्थापनको अभाव भएको पाइएको भन्दै शल्यक्रियापश्चात् तथा अन्य ठूला घाउचोट भएका बिरामीका लागि तापक्रमको व्यवस्थापन गर्नुका साथै स्वच्छ पिउने पानी र अस्पतालको सरसफाइलाई थप व्यवस्थित गर्न मन्त्रालयले आग्रह गरेको जानकारी दिए।
लूबाट जोगिउँ
यसैबिच तातो हावा (लू) का कारण मानिसको ज्यान जोखिम हुन सक्नेतर्फ चिकित्सकले सचेत गराएका छन्। चिकित्सक पवनकुमार शाहले मानिसको शरीरमा लूले प्रभाव पार्ने भएकाले सतर्कता अपनाउनु पर्ने सल्लाह दिए।
तातोका कारण सुरुमा राता बिबिरा, लुतो, घमौरा आउने र चिलाउने समस्या देखिन्छ। त्यस्तै खुट्टा सुन्निने, शरीरमा तातो बढ्ने, बेहोस हुनेसम्मका समस्या देखिन्छन्। पसिना धेरै बग्ने, शरीरमा पानीको मात्रा कम भएर हातखुट्टा बाउँडिनेजस्ता समस्या पनि देखिने चिकित्सकले जानकारी दिएका छन्।
तातो हावाका कारण बढी तिर्खा लाग्ने, टाउको दुख्ने र बेहोस हुने जस्ता समस्या पनि देखा पर्छन्। बढी समय तातोमा बस्दा प्रतिरोध क्षमता कमजोर भएर बेहोस हुन सक्ने, शरीरमा बहुप्रभाव पर्ने र मृत्युसमेत हुन सक्छ। डा. शाहले बान्ता आउँदा राम्ररी ख्याल गर्न सकिएन भने त्यसले ठूलै समस्या निम्त्याउन सक्ने बताउनुभयो। उहाँले विशेषगरी गर्भवती, वृद्धवृद्धा र बालबालिकालाई लूबाट जोगाउन बढी ध्यान दिनुपर्ने सुझाव दिए।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अध्यता डा. मेघनाथ धिमालले सन् २०१७ मा गरेको अध्ययन अनुसार त्यसअघि पूर्वमनसुनको समयमा मात्र देखिएको तातो हावाको लहर यस पटक मनसुनकै बेलामा देखिनु नेपालको मौसममा देखिएको नयाँ पद्धति भएको दाबी गर्नुभयो।
तातो हावाले शिक्षण संस्था, कार्यालय र सडकआसपास झुन्डिएका विद्युतीय तार पग्लेर अर्को गम्भीर असर देखिन सक्छ। सन् २००३ मा युरोपमा तातो हावा बहँदा १७ हजारभन्दा बढीले ज्यान गुमाएका थिए। गोरखापत्र
प्रतिक्रिया