भारतका विभिन्न स्थानमा पाकिस्तानको आक्रमण, जम्मु-कश्मीरमा बबन्डर

  शुक्रबार २७, बैशाख २०८२ ०७:४३

नयाँदिल्ली । पाकिस्तानले लगातार दोस्रो दिन बिहीबार राति ड्रोन र मिसाइलमार्फत् भारतका विभिन्न स्थानमा आक्रमण गरेको छ। यी आक्रमणहरू जम्मू-कश्मीर, पञ्जाब र राजस्थानका विभिन्न स्थानहरूमा भएका हुन्।

पाकिस्तानले आत्मघाती ड्रोन र मिसाइलहरू प्रहार गरेको छ । यता भारतीय पक्षले एस-४०० एयर डिफेन्स मिसाइल सिस्टमले ती सबै आक्रमण असफल बनाएको दाबी गरिरहेको छ।

बुधबार जम्मु र पठानकोटमा आत्मघाती ड्रोनमार्फत आक्रमण भएको थियो। पाकिस्तानी ड्रोनहरूले जम्मु विमानस्थल र पठानकोट एयरफोर्स स्टेसनलाई निशाना बनाएका छन् । बिहीबार पनि ती स्थानलाई निशाना बनाउँदै आक्रमण भएको छ । भारतीय एयर डिफेन्स सिस्टमले ती आक्रमण निष्फल पारेको जिकिर त्यहाँका सञ्चारमाध्यमले गरेका छन् ।

अहिले भारत र पाकिस्तानबीच कश्मीरको आरएसपुरा सेक्टरमा गोली हानाहान भइरहेको छ। नियन्त्रण रेखा ९एलओसी० नजिकै कुपवाडा र बारामुल्लामा पनि पाकिस्तानको तर्फबाट गोली हानिएको जिकिर भारतीय पक्षले गरिरहेको छ ।

कश्मीरका सतवारी, साम्बा, आरएसपुरा सेक्टर र अरनियामा पाकिस्तानले ८ वटा मिसाइलहरू प्रहार गरेको दाबी भारतीय सेनाले एक्समा लेखेर गरेको छ । तनावबीच भारतका कयौं क्षेत्रमा ब्ल्याक आउट गरिएको छ ।

बुधबार मात्रै पाकिस्तानले १५ भन्दा बढी भारतीय सैन्य ठेगानाहरूमा हमला प्रयास गरेको बताइएको छ। 'अपरेशन सिन्दूर’को भोलिपल्ट अर्थात् बुधबार-बिहीबार राति पाकिस्तानले भारतका १५ भन्दा बढी सैन्य ठेगानाहरूमा आक्रमण प्रयास गरेको थियो।

भारतले बिहीबार बिहान पाकिस्तानको एयर डिफेन्स सिस्टम ध्वस्त बनाएको दाबी गरेको छ । तर पाकिस्तानले यसलाई नकारेको छ। आक्रमणमा इजरायलबाट प्राप्त हार्पी ड्रोन प्रयोग गरिएको दाबी गरिएको छ । 

clock शुक्रबार २७, बैशाख २०८२ ०७:४३

प्रतिक्रिया