गेटामा स्वास्थ्य विश्वविद्यालय सञ्चालनको माग गर्दै सांसदलाई एसएमएस

  शुक्रबार २६, जेठ २०८० १२:४६

धनगढी । कैलालीको गेटामा स्वास्थ्य विश्वविद्यालय सञ्चालनको माग गर्दै प्रतिनिधि सभाका सदस्यहरुलाई एसएमएस पठाउन थालिएको छ। सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधि सभामा विजयी सांसदहरुलाई  दबाब दिन एसएमएस पठाउन थालिएको हो। संघीय सरकारको बजेट भाषणमा गेटामा प्रतिष्ठान बनाउने उल्लेख गरिएसँगै सुदूरपश्चिमका नागरिक आन्दोलनमा छन्। 

आन्दोलनका कार्यक्रम अन्तर्गत सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने सांसदहरूलाई एसएमएस पठाउन थालिएको हो। उनीहरूले गेटामा मेडिकल विश्वविद्यालय सञ्चालनका लागि भूमिका खोजेको, यो विषयमा प्रतिनिधि सभा सदस्यले बोल्नुपर्ने लगायतका विषय उल्लेख गर्दै एसएमएस पठाउने गरेका छन्। 

सरकारले बजेट भाषण मार्फत गेटामा प्रतिष्ठान निर्माण गरेर एक सय शय्याको मात्रै अस्पताल सञ्चालन गर्ने घोषणा गरेको छ। जबकि नीति तथा कार्यक्रममा गेटामा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने भनिएको थियो।

त्यसअघि २९ माघ २०७९ मा बसेको मन्त्रिपरिषद् बैठकले विश्वविद्यालय स्थापना गर्ने निर्णय गरेको थियो। तर, बजेट भाषणमार्फत प्रतिष्ठान बनाउने घोषणा गरिएपछि कैलालीमा आन्दोलन जारी छ। आन्दोलनका कार्यक्रम अनुसार सुदूरपश्चिम क्षेत्रबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यहरूलाई एसएमएस पटाउँदै दबाब दिन थालेका हुन्। 

उनीहरूले ‘माननीय ज्यू नमस्कार, गेटा विश्वविद्यालय सुदूरपश्चिमको लाइफ लाइन हो। हामी सुदूरपश्चिम बासी तपाईको भूमिकाको खोजी गर्दैछौ।’, ‘माननीय ज्यू नमस्कार, हामी गेटा विश्वविद्यालय प्रति तपाईको धारणा खोज्दै छौ। तपाई बोलेको, लेखेको र भूमिका निभाएको हेर्न मन छ।’ लगायत विषय लेखेर एसएमएस पठाउन थालेका हुन्।

उनीहरूले शेरबहादुर देउवा, आरजू राणा देउवा, रमेश लेखक, भानुभक्त जैशी, बद्री पाण्डे, प्रेम आले, शेरबहादुर कुँवर, एनपी साउँद, वीरबहादुर बलायर लगायतका सांसदहरूलाई एसएमएस पठाएका छन्। आन्दोलनकारीहरुले बिहिवार साँझ मात्र गेटामा विश्व विद्यालय लेखिएको बोर्ड राखेका थिए। 

clock शुक्रबार २६, जेठ २०८० १२:४६

प्रतिक्रिया