दार्चुलाको दुहुँमा विद्युतको महसुल नतिरेका कारण विद्युतबाट बञ्चित हुनुपर्ने अवस्था

  बुधबार २४, जेठ २०८० १२:१९

दार्चुला । दार्चुलाको दुहुँ गाउँपालिकामा विद्युतको पुरानो बक्यौता रकम नतिर्दा अहिले स्थानीय विजुलीबाट बञ्चित भएका छन् । दुहुँको वडा नम्बर ३, ४ र ५ का स्थानीयहरुले साझा मिटर जडान गरेर विजुली बालेपनि विद्युतको महसुल नतिरेका कारण अहिले विद्युतबाट बञ्चित हुनुपर्ने अवस्था आएको हो ।

विद्युत वितरण केन्द्र दार्चुलाले तिर्न बाँकी बक्यौता नतिरे पुरानो लाइने काट्ने र नयाँ ग्राहकलाई मिटर समेत नदिने भनेपछि स्थानीय सेवाग्राही समस्यामा परेका हुन् । दुहुँमा २०७८ भदौ १३ गते गएको बिनासकारी बाढी पहिरोका कारण चार वटा लघुजलविद्युतका पावरहाउस बगेका थिए ।

लघुजलविद्युत बगेपछि महिनौसम्म गाउँपालिकाभरीका स्थानीय अन्धकारमा बस्न बाध्य थिए । गाउँपालिकाको पहलमा २०७८ चैतदेखि लघुलजविद्युतकै शाखा लाइनहरुमा राष्ट्रिय प्रसारणको विद्युत लाइन जडान गरेर साँझा मिटरमार्फत वडा नम्बर ३, ४ र ५ मा विद्युली बालिएको थियो ।

स्थानीयबाट असुल गरेर वडाले तिर्ने शर्तमा वडा कार्यालयहरुको नाममा साँझा मिटर जडान गरेपनि तीन वटै वडाले जेठदेखि हालसम्मको १० लाख बढी महसुल तिर्न बाँकी रहेको भन्दै विद्युत प्राधिकरणले ताकेता गरिरहेको छ ।

बक्यौता रकम नतिर्दासम्म नयाँ मिटर नदिने र पुरानो बक्यौता तीन दिनभित्र नतिरे नियमानुसार विद्युत प्राधिकरणको लाइन काटिने जानकारीसहितको पत्र विद्युत वितरण केन्द्र दार्चुलाले गाउँपालिका र सम्बन्धित वडा कार्यालयहरुलाई पठाएको छ । 

विद्युत वितरण केन्द्र र गाउँपालिकाबाट पत्राचार भएपछि विद्युतको महसुल उठाउने काम भइरहेको दुहुँ–४ का वडाअध्यक्ष कृष्णसिंह लोथ्यालले जानकारी दिए। विद्युत वितरण केन्द्र दार्चुलासंग जेठ २५ भित्र उठेको बक्यौता रकम बुझाउने प्रतिवद्धता गरेकोले ग्राहकले मिटर नपाउने समस्या समाधान भइसक्ने उनको भनाई छ । 

clock बुधबार २४, जेठ २०८० १२:१९

प्रतिक्रिया