आज विश्व खाद्य स्वच्छता दिवस मनाईदै

  बुधबार २४, जेठ २०८० ०९:३३

काठमाण्डौ । आज विश्व खाद्य स्वच्छता दिवस मनाईंदैछ । यसवर्षको नारा ‘खाद्य पदार्थमा मापदण्ड, जीवन रक्षाको आधारस्तम्भ’ रहेको छ ।

नेपालको संविधानले हरेक नेपालीका लागि उपभोक्ताको हक, खाद्यसम्बन्धी हक र खाद्य सम्प्रभुताको हक सुनिश्चित गरेको छ ।

तर, ती व्यवस्था कार्यान्वयनको पक्ष भने निकै फितलो छ । बजारमा पाइने प्रायः सबैजसो खाद्य बस्तुमा अखाद्य बस्तुको मिसावट भएको पाइन्छ भने स्वास्थ्यलाई हानी गर्ने रसायन तथा रंगको समेत प्रयोग गर्ने गरेको पाइन्छ ।

अखाद्य तथा गुणस्तरहीन खाद्य बस्तुको उपभोगले नागरिकको स्वास्थ्यमा असर पर्ने हुँदा बस्तुको उत्पादनमा गुणस्तर मुख्य मानिन्छ ।

सरकारले विभिन्न १ सय ३७ वटा खाद्य पदार्थहरुको मापदण्ड र स्वच्छतासँगसम्बन्धी मापदण्ड तयार गरी लागू गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक डा।मतिना जोशी वैद्यले बताए । 

जिम्मेवार निकायले उपभोग्य बस्तुमा हुने कैफियत रोकथामको प्रयास गरेको दाबी गरे पनि बजारमा पाइने प्रायः सबैजसो खाद्य बस्तुमा अखाद्य बस्तुको मिसावट हुने गरेको भेटिन्छ ।

विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्क अनुसार अस्वस्थकर खानेकुराका कारण विश्वभर हरेक वर्ष झण्डै ५५ करोड मानिस बिरामी हुने गरेका छन् । 

अस्वस्थकर खानाले दुई लाख ३० हजारको ज्यान जाने गरेको छ । अस्वस्थकर एवम् दूषित खाद्य पदार्थबाट झाडापखालादेखि क्यान्सरसम्मका रोग लाग्ने डब्लुएचओले जनाएको छ ।

clock बुधबार २४, जेठ २०८० ०९:३३

प्रतिक्रिया