बाँदरले पनि खाँदैन जङ्गली फल, बाँदरका कारण किसान विस्थापित
बैतडी। वनमा यतिखेर काफल, कोइरालो, बेडु, तिमिलो, ऐँसेलु, चुत्रो, मछाइनोलगायत दर्जनौँ जङ्गली फल लटरम्म फलेका छन् तर बाँदर ग्रामीण किसानको बारीमा गहुँ, केराउ, मुसुरो खान पल्केको छ । जङ्गलमा रहेको फल खान छाडेर बाँदरले किसानको बारीमा रहेको अन्नबाली तथा तरकारी खान थालेपछि किसान हैरान भएका छन् ।
बाँदरले खेतीपाती नाश गरेर गाउँमा आतङ्क मच्चाउन थालेपछि किसान जमिन बाँझो छाड्न बाध्य छन् । भारतपारिबाट महाकाली नदी तरेर आएका बाँदरका कारण दशरथ चन्द नगरपालिका–४, ५, ६, ८ र १० नम्बर वडाका सयौँ परिवार विस्थापित भएका छन् ।
बाँदरकै कारण दशरथ चन्द नगरपालिकाका ११ वटा वडाको एक हजार ६२० हेक्टर खेतीयोग्य जमिन बाँझो रहेको छ । नगरको कुल दुई हजार ५९५ हेक्टर खेतीयोग्य जमिनमध्ये ९७२ हेक्टरमा मात्रै खेती हुने गरेको नगरपालिकाका कृषि शाखा प्रमुख दीपक कार्कीले बताउनुभयो । उहाँका अनुसार कुल खेतीयोग्य जमिनको ३७ प्रतिशत हिस्सामा मात्रै खेती हुने गरेको छ । त्यो पनि बाँदरका कारण किसानले अन्नबाली भित्र्याउन नपाउने उहाँले बताउनुभयो ।
भारतपारिबाट झुलाघाट पुल तरेर बैतडी आउने बाँदर राति झुलाघाट बसपार्कमा बास बस्ने गरेका छन् । बिहानपख बाँदरको झुन्ड दशरथ चन्द नगरपालिका ५, ६, ८ र १० नम्बर वडाका धौल्याली, साङ्डी, पुजरगाउँ, त्रिपुरा, पल्लाचौडाली, बाडीलेक, देवलहाट, आइत, भटाला, झाका, बुड्डा, खडेनीलगायत गाउँमा पस्ने गरेको छ । बाँदरले बारीमा लगाएको खेतीपाती मात्र होइन भान्सा कोठामा पकाएको खानासमेत छिनेर खान थालेका छन् ।
बारीमा लगाएको खेती र भान्सामा पकाएको खानेकुरा बाँदरले छिनेर खान थालेपछि गाउँमा आतङ्क सिर्जना भएको दशरथ चन्द नगरपालिका–४ का युवा किसान दीपक ठगुन्नाले बताउनुभयो ।
बाँदर आतङ्कका बारेमा किसानले गुनासो लिएर नगरपालिका आउने गरेको दशरथ चन्द नगरपालिकाका प्रमुख पुष्करराज जोशी (लख्खाभाइ) ले बताउनुभयो । बाँदर मार्ने ऐन कानुन नभएकाले नगरपालिकाले केही गर्न नसक्ने उहाँले बताउनुभयो । किसानलाई वैकल्पिक खेतीका रूपमा टिमुर, कागती, मौरीपालन जस्ता अन्य व्यवसाय गर्न नगरपालिकाले सहयोग गरिरहेको उहाँले बताउनुभयो ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठान (नास्ट) को तथ्याङ्क अनुसार नेपालमा २५६ वटा जङ्गली खाद्य फल रहेका छन् । तीमध्ये सुदूरपश्चिमको बैतडीलगायतका पहाडी जिल्लामा आधाभन्दा बढी खाद्य फल पाइने नास्टका वैज्ञानिक डा। लोकरञ्जन भट्टले बताउनुभयो ।
उहाँले खोज अनुसन्धान गरेर लेख्नुभएको ‘नेपालका जङ्गली खाद्य फल’ पुस्तकमा २५६ वटा जङ्गली खाद्य फलको विशेषता उल्लेख गरिएको छ । यद्यपि जङ्गली खाद्य फलको उपयोग हुन सकेको छैन । भारतबाट आएका बाँदरलेसमेत यी फलमा रुचि नदेखाएको उहाँले बताउनुभयो ।
प्रतिक्रिया