कञ्चनपुरमा खेल मैदान नहुँदा प्रतियोगिता गराउनै सकस
कञ्चनपुर । कञ्चनपुर क्रिकेट खेलाडी उत्पादन गर्ने थलोका रुपमा पनि परिचित छ । अहिले पनि नेपालको राष्ट्रिय क्रिकेट टोलीमा कञ्चनपुरका चार खेलाडी छन् ।
दीपेन्द्रसिंह ऐरीदेखि विनोद भण्डारी, प्रदीप ऐरी, भीम सार्की यहीँका उत्पादन हुन् । कञ्चनपुरमा क्रिकेटको क्रेज ग्रामीणस्तरसम्म छ । तर यहाँ खेल मैदान बनाउने विषय भने प्राथमिकतामा पर्न सकेको छैन ।
महेन्द्रनगरस्थित कबर्डहलमा भएको एउटै खेल मैदानमा क्रिकेट र फुटबल खेल्नुपर्ने बाध्यता छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिनिधित्व गर्ने कञ्चनपुरका खेलाडीले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेपनि जिल्लास्तरमा भने खेल संरचनाको अवस्था भने दयनीय छ ।
कुस्ती, क्रिकेट, फुटबल र भलिबल जस्ता खेलका राष्ट्रिय टिमहरुमा कञ्चनपुरकै खेलाडीको वचस्र्व छ । जिल्ला क्रिकेट सङ्घका अध्यक्ष वीरेन्द्रबहादुर चन्दले खेल मैदान नहुँदा प्रतियोगिता गराउन निकै समस्या खेप्नु परेको बताउँछन्। “कुनै प्रतियोगिता सञ्चालन गर्नुप¥यो भने हामीसँग खेल मैदान छैन”, चन्दले भने, “कबर्डहलमा एउटा खेल मैदान छ त्यसैमा क्रिकेट, फुटबल सबै खेल खेल्नुपरेको छ ।”
आगामी शुक्रबारदेखि क्रिकेट सङ्घले कर्पोरेट क्रिकेट प्रतियोगिता आयोजना गर्दैछ । उक्त प्रतियोगिताका लागि खेल मैदान नहुँदा सुदूरपश्चिम विश्वविद्यालयको खेल मैदानमा प्रतियोगिता सञ्चालन गर्नुपरेको छ ।
“क्रिकेटका खेलाडी उत्पादनका लागि विभिन्न प्रतियोगिता सञ्चालन गर्दै आएका छौँ, तर खेल मैदान अभावकै कारण प्रतियोगिता सञ्चालनमा कठिनाइ हुने गरेको छ”, उनले भने । क्रिकेट र फुटबलका लागि छुट्टाछुट्टै खेल मैदान हुनुपर्नेमा एउटै मैदानमा खेलाडीले प्रशिक्षण गर्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ ।
महेन्द्रनगरस्थित कबर्डहल परिसरमा क्रिकेट मैदानका लागि जग्गा रहेपनि मैदान निर्माण हुन सकेको छैन । आर्थिक वर्ष २०७६÷७७ मा राष्ट्रिय खेलकुद परिषद्ले बजेट विनियोजन गरी सुदूरपश्चिम क्षेत्रीय खेलकुद विकास समिति धनगढीमार्फत ठेक्का आह्वान गरेर क्रिकेट मैदान निर्माण थालेपनि अहिले बजेटलगायतका कारणले निर्माण अघि बढेको छैन ।
कबर्डहलमा गुरुयोजना भन्दा बेग्लै केही संरचना बनेका कारण क्रिकेट मैदान बनाउन विनियोजित रु एक करोडभन्दा बढी बजेट माटो भरानमै सकिएपछि बाँकी काम अघि बढ्न सकेको छैन । क्रिकेट मैदान निर्माणस्थलमै जिल्ला खेलकुद विकास समितिले माछा पोखरी निर्माणका लागि जग्गा ठेक्कामा दिँदा अहिले क्रिकेटमा आएको रकम पोखरी पुर्नमासमेत खर्च भएको देखिन्छ ।
सरकारले भौतिक पूर्वाधार लगायतको सेवासुविधामा ध्यान दिनुपर्ने जिल्ला खेलकुद विकास समितिका सदस्य विकास महता बताउँछन् । “क्रिकेटमा मात्रै होइन कञ्चनपुरमा फुटबललगायतका अन्य खेलमा पनि राम्रो खेलाडी उत्पादन भइरहेका छन्”, उनले भने।
उनले खेलकुद र खेलाडीको विकासमा राज्यको ध्यान नपुग्दा खेलाडी अन्यत्र पलायन हुने अवस्था आएको बताए। “हरेक खेलमा यहाँका थुप्रै खेलाडी नेपालका विभागीय टिममार्फत राम्रो पदर्शन गरिरहेका छन् ।” उनले भने, “राजनीति नगरी खेलकुदको विकासका लागि सबैले लाग्न जरुरी छ ।”
क्रिकेट फुटबलमा मात्रै होइन अन्य खेलमासमेत प्रशिक्षणका लागि ठाउँ नहुँदा समस्या झेल्नु परेको छ । कुस्तीमा सबैभन्दा बढी मेडल ल्याउनेमा कञ्चनपुर पर्छ । तर कञ्चनपुरमै कुस्ती प्रशिक्षणका लागि संरचना बन्न सकेका छैनन ।
कुस्ती प्रशिक्षण राजेन्द्रबहादुर चन्दले भने, “अहिले टाईगन्डोको हलमा प्रशिक्षण गरिरहेका छौँ ।” उनले साँझ बिहानको पालो मिलाएर ताईक्वान्डोको हलमा प्रशिक्षण गरिरहेको बताए। “सबैभन्दा बढी पदक प्राप्त गर्नेमा यहीँका खेलाडी छन्, तर यहाँ एउटा पनि प्रशिक्षण केन्द्र बन्न सकेको छैन”, उनले भने ।
कुस्ती प्रशिक्षणका लागि गत आर्थिक वर्षमा रु १० लाख रकम आए पनि रु सात लाख बराबरको मात्रै काम भएको थियो । चालु आर्थिक वर्षमा बजेट नै आउन नसक्दा उक्त प्रशिक्षण केन्द्रको काम अघि बढ्न सकेको छैन ।
महेन्द्रनगरस्थित कबर्डहलको जग्गा जिल्ला खेलकुद विकास समितिले कृषि प्रयोजनका नाममा गुरुयोजना विपरीत प्रयोग गरेपछि खेलाडीले कबर्डहलको खेल मैदान प्रयोग गर्न नपाएको स्थानीय बताउँछन । स्थानीय रमेश पन्तले राष्ट्रिय टोली र अन्य विभागीय टोलीमा समेत कञ्चनपुरकै खेलाडीको वचस्र्व रहेको बताउँदै जिल्लास्तरमा खेलका पूर्वाधार नहुनु विडम्बना भएको बताए ।
प्रतिक्रिया