धनगढीका चार सामुदायिक विद्यालयमा ‘ग्रासरुट फुटबल’ सञ्चालनको सम्झौता

  मङ्गलबार ०६, फागुन २०८१ १७:५३

धनगढी । धनगढी उपमहानगरपालिका र कैलाली जिल्ला फुटबल संघको बिचमा ‘ग्रासरुट फुटबल’ कार्यक्रम सञ्चालनको सम्झौता भएको छ। धनगढी उपमहानगरपालिका क्षेत्रका चार वटा सामुदायिक विद्यालयहरूमा ‘ग्रासरुट फुटबल’ हुने भएको छ।

धनगढी उपमहानगरपालिका–१६ को बेहडाबाबा माध्यमिक विद्यालय, दक्षिणकाली बहिरा आवासीय विद्यालय–११, राष्ट्रिय माध्यमिक विद्यालय–१५ उर्मी र धनगढी–७ को पटेला खेल मैदानमा ‘ग्रासरुट फुटबल’ कार्यक्रम सञ्चालनको हुने भएको हो। नेपालको संविधानमा भएको व्यवस्था तथा खेलकुद शिक्षा विकास ऐन, २०७९ को दफा १० बमोजिम कैलाली जिल्ला फुटबल संघसँग सम्झौता गरिएको धनगढी उपमहानगरपालिकाले जनाएको छ। 

धनगढी उपमहानगरपालिकाले फुटबल मैदान निर्माण गर्ने छ। धनगढी उपमहानगरपालिकाले प्राविधिक तथा आर्थिक सहयोग गर्ने भएको हो। फुटबल संघले खेल सामाग्री, खेलाडी, प्रशिक्षक लगायतको व्यवस्थापन गर्ने छ। धनगढी उपमहानगरपालिकाको निजी स्रोतबाट ‘ग्रासरुट फुटबल’ को खर्च ब्यहोर्ने योजना छ।

खेल अभ्यासको काम फुटबल संघले गर्ने भएको हो। नयाँ फुटबल खेलाडी उत्पादनका लागि विद्यालय स्तरबाटै प्रशिक्षणको कार्यक्रम सञ्चालन गरिएको धनगढी उपमहानगरपालिकाले जनाएको छ। गत वर्ष ‘ग्रासरुट क्रिकेट’ कार्यक्रमको सुरुवात गरेको धनगढी उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा ‘ग्रासरुट फुटबल’ कार्यक्रम सञ्चालन गर्न सम्झौता गरेको हो। 

गत आर्थिक वर्ष सुरुवात गरिएको ग्रासरुट क्रिकेट कार्यक्रमसमेत सञ्चालनमा रहेको युवा तथा खेलकुद शाखाका प्राविधिक सहायक केशव खत्रीले बताए। उनले क्रिकेट, ब्याडमिन्टन लगायतका खेलकुद कार्यक्रम सञ्चालनमा रहेका वडाहरूमा हाल फुटबल कार्यक्रम सञ्चालन नहुने बताए। तर, कार्यक्रमहरू विस्तार गर्दै जाने योजना रहेको उनले बताएका छन्।

clock मङ्गलबार ०६, फागुन २०८१ १७:५३

प्रतिक्रिया