आज देखि प्रेम, मित्रता र सद्भावको उत्सव भ्यालेन्टाइन सप्ताह सुरु
धनगढी । भ्यालेन्टाइन डे हरेक वर्ष फेब्रुअरी १४ मा पर्दछ। यो प्रेम व्यक्त गर्ने विशेष अवसर हो। अघिल्ला वर्षहरूमा यो एक दिनमै सीमित थियो, तर अहिले यसको उत्सव हप्ताभरि मनाइन्छ। विशेष गरी युवाहरूले यसलाई विभिन्न दिनहरूमा विभाजन गरी विशेष तरिकाले मनाउने चलन बढ्दो छ।
रोज डेबाट सुरु हुने भ्यालेन्टाइन सप्ताह
भ्यालेन्टाइन सप्ताह फेब्रुअरी ७ मा रोज डेबाट सुरु हुन्छ। यस दिन जोडीहरूले एक-अर्कालाई, साथीभाइ तथा आफन्तहरूलाई प्रेम तथा भावनाहरू व्यक्त गर्न गुलाफ उपहार दिन्छन्। यो केवल प्रेमी(प्रेमिकाका लागि मात्र होइन, मित्रता, सद्भाव र शान्तिको प्रतीक पनि मानिन्छ। यसले सम्बन्धलाई साना कुराहरूले पनि बलियो बनाउन सक्ने पाठ दिन्छ।
रोज डेको ऐतिहासिक पृष्ठभूमि
रोज डेको सुरुवातबारे कुनै निश्चित प्रमाण छैन, तर यो युरोपको मध्ययुगीन प्रेम परम्परासँग जोडिएको मानिन्छ। त्यस समयमा प्रेमीहरूले प्रेमपत्र तथा फूलमार्फत आफ्ना भावना व्यक्त गर्ने गर्थे। यही परम्पराले क्रमशः पश्चिमी देशहरूमा भ्यालेन्टाइन सप्ताहको रूप लिएको विश्वास गरिन्छ।
भ्यालेन्टाइन सप्ताहको ऐतिहासिक सन्दर्भ
रोमन सम्राट क्लाउडियस द्वितीयको शासनकालमा, सेन्ट भ्यालेन्टाइनले प्रेम र विवाहलाई प्रवर्द्धन गर्न ठूलो संघर्ष गरेको मानिन्छ। उनी प्रेमको पक्षपोषण गर्दै अघि बढ्दा उनलाई मृत्युदण्ड दिइएको थियो। उनको त्याग र योगदानको सम्मानमा भ्यालेन्टाइन सप्ताह मनाउने परम्परा चलेको विश्वास गरिन्छ।
गुलाफका विभिन्न रंगको अर्थ
गुलाफ प्रेम, मित्रता तथा भावनाहरूको प्रतीक मानिन्छ। फरक(फरक रंगका गुलाफले फरक अर्थ व्यक्त गर्छन्स्
रातो गुलाफ: साँचो प्रेमको प्रतीक।
सेतो गुलाफ: शान्ति र नयाँ सुरुवातको प्रतीक।
पहेँलो गुलाफ: मित्रता र खुसीको प्रतीक।
गुलाबी गुलाफ: कृतज्ञता र प्रशंसाको प्रतीक।
सुन्तला गुलाफ: जोस, उत्साह र आकर्षणको प्रतीक।
भ्यालेन्टाइन सप्ताहको विशेष दिनहरू
फेब्रुअरी ७ – रोज डे
फेब्रुअरी ८ – प्रपोज डे
फेब्रुअरी ९ – चकलेट डे
फेब्रुअरी १० – टेडी डे
फेब्रुअरी ११ – प्रमिस डे
फेब्रुअरी १२ – हग डे
फेब्रुअरी १३ – किस डे
फेब्रुअरी १४ – भ्यालेन्टाइन डे
प्रेम, मित्रता र सद्भाव अभिव्यक्त गर्ने यो हप्ता विशेषगरी युवाहरूका लागि महत्वपूर्ण मानिन्छ।
प्रतिक्रिया