सुदूरपश्चिमका युवायुवतीलाई चार दिन नमूना सांसद बनाएर संसदीय अभ्यास सिकाइयो

  शनिबार १३, जेठ २०८० १०:४२

धनगढी । सुदूरपश्चिमका युवायुवतीहरुलाई संसदीय प्रणालीसम्बन्धि अभ्यास गराइएको छ। सुदूरपश्चिम प्रदेश युवा परिषदले उक्त अभ्यास गराएको जो।

प्रदेशका युवाहरुको नेतृत्वदायी क्षमता अभिवृद्धी गर्ने हेतुले धनगढीमा ४ दिने संसदीय अभ्यास गराइएको बताइएको छ। नमूना युवा संसद अभ्यासमा सामेल युवाहरुले संसदका काम कारबाही, सरकारका काम र छनौट हुने योजना लगायतका बारेमा जानकारी लिएका छन्। 

यस्तै उनीहरुले नमूना युवा संसद अभ्यासबाट नेतृत्वदायी क्षमताको विकाससंगै सही नेतृत्व छनौट र आफ्ना अधिकारका विषयमासमेत जानकारी लिएको बताएका छन्।सुदूरपश्चिम प्रदेशका प्रत्येक जिल्लाबाट प्रतिनिधिमुलक रुपमा युवायुवतीहरुलाई उक्त कार्यक्रममा सहभागी गराइएको थियो।


सो क्रममा प्रतिनिधि सभा, प्रदेशसभाले बनाउने ऐन, कानुन र कार्यान्वयनका चरणहरु बारे छलफल गरिएको थियो। जेठ ९ गतेदेखि सुरु भएको नमूना युवा संसद अभ्यास आज १२ गतेसम्म चलेको थियो। प्रदेश युवा परिषद सुदूरपश्चिमले हरेक वर्ष कार्यक्रम नै राखेर नमूना युवा संसद अभ्यास आयोजना गर्दै आइरहेको छ।

युवाहरुको क्षमता अभिवृद्धी र संसद तथा सरकारले गर्ने कामबारे अभ्यास दिनका लागि हरेक वर्ष यो कार्यक्रम आयोजना हुँदै आएको परिषदका कार्यकारी उपाध्यक्ष युवराज कुँवरले बताए। नमूना युवा संसदले राजनितिक तथा सामाजिक नेतृत्वदायी क्षमतामा वृद्धी हुने कुँवरले बताए। 

सबै किसिमको नेतृत्व क्षमता भए युवाहरुले सफलता प्राप्त गर्ने उनको भनाई छ। युवा परिषदले युवाका क्षेत्रमा विभिन्न गतिविधि गर्दै आएको छ। सुदूरपश्चिमका युवाहरुलाई केन्द्रित गरेर प्रदेश सरकारले बजेट ल्याउनुपर्ने पनि युवा परिषदको आग्रह छ।

clock शनिबार १३, जेठ २०८० १०:४२

प्रतिक्रिया