शनिबारदेखि सुरु हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताको तयारी पूरा
उद्घाटन खेलमा धनगढी र डडेल्धुरा भिड्ने
धनगढी । धनगढीमा शनिवारदेखि सुरु हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको छ। गो ड्रिमर्सले शुक्रवार फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदानमा पत्रकार सम्मेलनको आयोजना गर्दै सम्पूर्ण तयारी पूरा भएको बताएको हो। नेपाल क्रिकेट संघको वार्षिक क्यालेण्डरमा समावेश भएको प्रतियोगिता माघ २८ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगिताका खेलहरु धनगढीस्थित फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदानमा हुनेछन्।
धनगढी र सुदूरपश्चिम प्रदेशको क्रिकेटका सारथी रहेका स्वर्गीय अर्जुन खड्कालाई समर्पित गर्दै आयोजना गर्न लागिएको प्रतियोगिता हुँदैछ। गो ड्रिमर्सका अध्यक्ष सुवास शाहीले प्रतियोगिताको तयारी पूरा भएको बताए। उनले भने, ‘प्रतियोगिताका खेलहरू खेल्नका लागि फाप्ला अन्तरराष्ट्रिय क्रिकेट मैदानमा चार वटा पिच निर्माण गरिएका छन्। मैदानमा दर्शकहरूलाई बस्नका लागि कृतिम प्याराफिट पनि जडान गरिएको छ। अन्य तयारी पनि सकिएका छन्। व्यवस्थापनका सम्पूर्ण कामहरू पूरा भएका हुन।’
प्रतियोगिताको उद्घाटन सुदुरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री मेघराज खड्काले गर्ने भएका छन्। उद्घाटन समारोहमा गायक चक्र बमको साङ्गीतिक प्रस्तुति समेत रहनेछ।
उद्घाटन खेलमा धनगढी र डडेल्धुरा भिड्ने
उद्घाटन खेलमा धनगढी र डडेल्धुरा भिड्ने भएका छन्। डिसिए धनगढी र फेण्ड्स क्लब डडेल्धुरा बीचको खेल दिउँसो सवा १२ बजे सुरु हुनेछ। डिसिए धनगढीबाट नेपाली क्रिकेट टोलीका सदस्य ललील राजवंशी, लोकेश बम, नारायण जोशी, अमित श्रेष्ठ लगायतका खेलाडीहरू मैदान उर्तीने छन्।
फेण्ड्स क्लब डडेल्धुराबाट नेपाली क्रिकेट टोलीका सदस्य कुशल भुर्तेल, सन्दीप जोरा, विनोद भण्डारी, हेमन्त धामी लगायतका खेलाडीले खेल्नेछन्। समूह ए मा रहेका दुबै टोली जितबाट प्रतियोगिताको सुरुवात गर्ने पक्षमा रहेका छन्। प्रतियोगितामा देशभरका ८ वटा क्लबका टीमहरूको सहभागीता रहेको छ।
दुई समुहमा विभाजन गर्दै लिगकम नकाउटका आधारमा आयोजना हुने प्रतियोगिताको समुह ए मा डिसिए धनगढी, फेण्ड्स युथ क्लब डडेल्धुरा, घोडाघोडी–११ सुख्खड र बोष्टन क्रिकेट झापा रहेका छन्। यस्तै समुह बी मा सिवाईसी अत्तरिया, क्रिकेट एक्सिलेन्स सेन्टर काठमाण्डौँ, न्यु होराईजन बुटवल र दशरथ चन्द एकेडेमी बैतडी रहेका छन्।
२० लाख नगद पुरस्कार
अर्जुन ट्रफीमा झण्डै २० लाख नगद पुरस्कार प्रदान गरिनेछ । रनिङ ट्रफीको रुपमा टी–२० प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले नगद ५ लाख सहित ट्रफी पाउनेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद एक लाख प्रदान गरिनेछ ।
उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उदयमान खेलाडीले जनही ५०र५० हजार पाउनेछन । प्रत्येक खेलका म्यान अफ द म्याचलाई नगद १० हजार प्रदान गरिनेछ ।
नेपाली क्रिकेट टोलीका खेलाडीहरू विभिन्न क्लबबाट खेल्दै
अर्जुन ट्रफीमा नेपाली क्रिकेट टोलीका खेलाडीहरू विभिन्न क्लबबाट खेल्दैछन्। डिसिए धनगढीबाट नेपाली क्रिकेट टोलीका सदस्य ललील राजवंशी, लोकेश बम, नारायण जोशी, अमित श्रेष्ठ लगायतका विभिन्न उमेर समुहका खेलाडीहरु खेल्दैछन्। फेण्ड्स क्लब डडेल्धुराबाट नेपाली क्रिकेट टोलीका सदस्य कुशल भुर्तेल, सन्दीप जोरा, विनोद भण्डारी, हेमन्त धामी लगायतका खेलाडीले खेल्दैछन्। सिवाईसी अत्तरियाबाट भीम सार्की विवेक यादव, साहव आलम, रसिद खान, दिपेश कँडेल, सन्तोष कार्की लगायतका खेलाडीले खेलिरहेका छन्। न्यु होराईजन बुटबलबाट कुशल मल्ल, दिलिप नाथ, तुलवहादुर थापा, दिपक डुम्रे, प्रतिक श्रेष्ठ लगायतका खेलाडीले प्रतियोगिता खेलिरहेका छन् ।
क्रिकेट एक्सीलेन्स सेन्टरबाट नन्दन यादव, दिपेन्द्र रावत, सुर्य तामाङ, युनिस विक्रम सिंह, अर्जुन घर्ती र सोनु अन्सारीले आफ्नो प्रदर्शन देखाउनेछन्।
दशरथ चन्द एकेडेमी बैतडीबाट भुवन कार्की, अमर सिंह रौटेला, खड्क बोहोरा, दिपक बोहोरा, बसन्त खत्री लगायतका खेलाडी रहँदा घोडाघोडी ११ बाट शेर मल्ल, नरेन साउँद, आयुव चन्द, विपिन विक्रम शाही लगायतका खेलाडीहरू आफ्नो क्षमता देखाउनेछन् । बोष्टन क्रिकेट झापाबाट पवन कार्की, रमेश भट्ट लगायतका विभिन्न उमेर समूहका अन्तरराष्ट्रिय तथा राष्ट्रिय खेलाडीहरूको सहभागीताले प्रतियोगिताको रौनकता बढाएको छ । प्रतियोगिताले आगामी दिनमा उदयमान भविष्यका ताराहरू उदाउने अपेक्षा पनि आयोजकले लिएको छ ।
प्रतियोगितामा सहभागी टोलीमा ए क्याटोगोरीका चार जना, बी क्याटोगोरीका पाँच जना र बाँकी सी क्याटोगोरीका गरी १४ खेलाडी समावेश गरिएका छन् । ए क्याटोगोरीमा नेपाली राष्ट्रिय टीमका खेलाडी रहेका छन भने बी क्याटोगोरीमा नेपाली राष्ट्रिय टीम ए, यु– १९ नेपाली राष्ट्रिय टोली र प्रदेश स्तरीय सिनियर खेलाडी रहेका छन् । सी क्याटोगोरीमा यु– १६ नेपाली राष्ट्रिय टोली, प्रदेशका यु–१९ र यु–१६ का खेलाडी र अन्य खेलाडीहरू रहेका छन् ।
पहिलो क्याच गर्ने दर्शकलाई एक लाख पुरस्कार
प्रतियोगितामा पहिलो क्याच गर्ने दर्शकले नगद एक लाख पुरस्कार पाउने भएका छन् । धनगढीको ब्रेड बक्सले प्रतियोगितामा मैदान बाहिर बसेका दर्शकले छक्का भएको बल क्याच गरेमा नगद एक लाख पुरस्कार दिने भएको हो । साथै अन्य क्याचहरुमा पनि नगद पुरस्कार प्रदान गर्ने ब्रेड बक्सले जनाएको छ ।
यसका साथै खल्ती एफले क्याच गर्ने दर्शकहरुमध्येबाट दैनिक रुपमा एक जनालाई एयर बड सहितको पुरस्कार पनि दिने भएको छ । प्रतियोगिताको खेललाई प्रत्यक्ष रुपमा मैदानमा गएर हेर्नका लागि खल्ती एपबाट टिकट काट्न सकिने सुविधा दिईएको छ । प्रतियोगिताका खेलहरु हेर्नका लागि खल्ती एपमा अर्जुन ट्रफीको टिकट काट्ने सुविधा सुरु भईसकेको छ । प्रतियोगिताका लागि भिआईपी तर्फ दुई सय र साधारण तर्फ एक सय रुपैया टिकट दर तोकिएको छ ।
दर्शकका लागि फाप्लासम्म बस सेवा सञ्चालन हुने
अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितालाई लक्षित गर्दै फाप्ला अन्तरराष्ट्रिय क्रिकेट मैदानसम्म बस सेवा सञ्चालन हुनेछ । धनगढी उपमहानगरपालिकाले फाप्ला अन्तरराष्ट्रिय क्रिकेट मैदानसम्म बस सेवा सञ्चालन गर्नेछ । प्रतियोगिता अवधिभर अर्जुन ट्रफी हेर्न जाने दर्शकहरुलाई सहजताका लागि सहुलियत दरमा बस सेवा सञ्चालन गरिएको धनगढी उपमहानगरपालिकाले जनाएको छ ।
धनगढीको क्याम्पस रोडदेखि मुख्य सडक भएर एउटा रुटमा र क्याम्पस चोकदेखि नै मुख्य सडक बाहिरी क्षेत्र भएर अर्को रुटमा नगर बसले फाप्लासम्म सेवा सञ्चालन हुनेछ । २० मिनेटको अन्तरमा नगर बसले सेवा दिने सम्झौता भएको छ ।
धनगढी उपमहानगरपालिकाद्धारा सञ्चालित नगर बसले अर्जुन ट्रफीको अवधिभर फाप्लासम्म नगर बस सेवा दिनेछ । खेल हेर्न जाने दर्शकहरुलाई नगर बसले सहज हुनेछ । नगर बसको सेवा पाउने भएपछि खेल हेर्न उत्साहित दर्शकहरू खुसी भएका छन् ।
 
                     
                                 
                         
                                         
                                         
                                             
                                             
                                     
                                             
                                             
                                     
                                     
                                     
                                     
                                     
                                             
                         
                         
                         
                         
                         
                         
                        
प्रतिक्रिया