अर्जुन ट्रफी हेर्न जानेका लागि फाप्लासम्म धनगढी उपमहानगरले बससेवा सञ्चालन गर्ने

  मङ्गलबार १५, माघ २०८१ १७:१३

धनगढी । धनगढी उपमहानगरपालिकाले फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदानसम्म बस सेवा सञ्चालन गर्ने भएको छ । क्रिकेटको शहर धनगढीमा यही माघ १९ गतेदेखि २८ गते फेब्ररी १ देखि १० सम्म आयोजना हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितालाई लक्षित गर्दै उपमहानगरपालिकाले बस सेवा सञ्चालन गर्ने भएको हो । अर्जुन ट्रफी हेर्न जाने दर्शकहरुलाई सहजताका लागि सहुलियत दरमा बस सेवा सञ्चालन गर्न लागेको धनगढी उपमहानगरपालिकाले जनाएको छ ।

धनगढीको क्याम्पस रोडदेखि मुख्य सडक भएर एउटा रुटमा र क्याम्पसचोकदेखि नै मुख्य सडक बाहिरी क्षेत्र भएर अर्को रुटमा नगर बसले फाप्लासम्म सेवा दिने छ । २० मिनेटको अन्तरमा नगर बसले सेवा दिने सम्झौता भएको छ । धनगढी उपमहानगरपालिकाद्धारा सञ्चालित नगर बसले अर्जुन ट्रफीको अवधिभर फाप्लासम्म नगर बस सेवा दिने भएको हो । खेल हेर्न जाने दर्शकहरुलाई नगर बसले सहज हुने भएको छ । नगर बसको सेवा पाउने भएपछि खेल हेर्न उत्साहित दर्शकहरु खुशी भएका छन् ।

प्रतियोगिताको खेललाई प्रत्यक्ष रुपमा मैदानमा गएर हेर्नका लागि खल्ती एपबाट टिकट काट्न सकिने सुविधा दिईएको आयोजकले जनाएको छ । प्रतियोगिताका खेलहरु हेर्नका लागि खल्ती एपमा अर्जुन ट्रफीको टिकट काट्ने सुविधा सुरु भईसकेको छ । डिजिटल वालेट खल्तीबाट टिकट काटेर खेल हेर्ने दर्शकहरुलाई टिकट बराबरको आकर्षक उपहार पनि दिइने भएको छ ।


गो ड्रिमर्सको आयोजनामा यस बर्षदेखि नेपाल क्रिकेट संघको वार्षिक क्यालेण्डरमा समावेश भएको प्रतियोगिताका लागि भिआईपी तर्फ दुई सय र साधारण तर्फ एक सय रुपैया टिकट दर तोकिएको छ । प्रतियोगिताका सबै खेलहरू एक्सन स्पोट्र्स एचडी वान टेलिभिजनमा प्रत्यक्ष प्रसारण गरिने छ ।

धनगढी र सुदुरपश्चिम प्रदेशको क्रिकेटका सारथी रहेका स्वर्गीय अर्जुन खड्काप्रति समर्पित अर्जुन ट्रफीमा झण्डै २० लाख नगद पुरस्कार प्रदान गरिनेछ । रनिङ ट्रफीको रुपमा टी–२० फर्म्याटको प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले नगद ५ लाख सहित ट्रफी पाउनेछन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई नगद एक लाख प्रदान गरिनेछ । उत्कृष्ट व्याट्सम्यान, उत्कृष्ट बलर र उदयमान खेलाडीले जनही ५०÷५० हजार पाउनेछन् । प्रत्येक खेलका म्यान अफ द म्याचलाई नगद १० हजार प्रदान गरिनेछ ।

प्रतियोगितामा देशभरका ८ वटा क्लबका टीमहरुको सहभागीता रहेको छ । सबै टोलीहरुले ए क्याटोगोरीका चार जना, बी क्याटोगोरीका पाँच जना र बाँकी सी क्याटोगोरीका गरी १४ खेलाडी समावेश गर्न पाउनेछन् । ए क्याटोगोरीमा नेपाली राष्ट्रिय टीमका खेलाडी रहेका छन् भने बी क्याटोगोरीमा नेपाली राष्ट्रिय टीम ए, यु– १९ नेपाली राष्ट्रिय टोली र प्रदेश स्तरीय सिनियर खेलाडी रहेका छन् । सी क्याटोगोरीमा यु– १६ नेपाली राष्ट्रिय टोली, प्रदेशका यु–१९ र यु–१६ का खेलाडी र अन्य खेलाडीहरु रहेका छन् ।

clock मङ्गलबार १५, माघ २०८१ १७:१३

प्रतिक्रिया