भीम विवेक साहव र रसिदले अर्जुन ट्रफी सिवाईसी अत्तरियाबाट खेल्ने
धनगढी । क्रिकेटको शहर धनगढीमा आगामी माघ १९ गतेदेखि २८ गते (फेब्ररी १ देखि १०) सम्म आयोजना हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कैलालीको सिवाईसी अत्तरियाले चार जना राष्ट्रिय खेलाडी अनुबन्ध गरेको छ । गो ड्रिमर्सको आयोजनामा यस बर्षदेखि नेपाल क्रिकेट संघको बार्षिक क्यालेण्डरमा समावेश भएको प्रतियोगिताका लागि भीम सार्की, विवेक यादव, साहव आलम र रसिद खानले सिवाईसी अत्तरियाबाट खेल्ने भएका हुन् । हालै सम्पन्न नेपाल प्रिमियर लिगमा भीम, साहव र रसिदले काठमाण्डौं गोर्खाजबाट खेलेका थिए । विवेकले लुम्बीनी लायन्सबाट खेलेका थिए ।
सिवाईसीले ए क्याटोगोरीका चार जना खेलाडी अनुबन्ध गरिसकेको छ भने बी क्याटोगोरीका पाँच जना खेलाडी गरी ९ जना खेलाडीहरुलाई राखेर टीम निर्माण गरिरहेको छ । बी क्याटोगोरीबाट सिवाईसीले सन्तोष कार्की, तृप्त दास, दिपेश कँडेल, शंकर राना र सन्दीप क्षेत्रीलाई टीमा समावेश गरेको छ । सी क्याटोगोरीका खेलाडीहरुको छनोट कार्य भईरहेको र केही दिनमा १४ सदस्यीय टीमको घोषणा गरिने प्रशिक्षक रजत शाहीले जानकारी दिए ।
धनगढी र सुदुरपश्चिम प्रदेशको क्रिकेटका सारथी रहेका स्वर्गीय अर्जुन खड्काको स्मृतिमा आयोजना गर्न लागेको अर्जुन ट्रफीमा झण्डै २० लाख नगद पुरस्कार प्रदान गरिनेछ । रनिङ ट्रफीको रुपमा टी–२० फमर््याटको प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले नगद ५ लाख सहित ट्रफी पाउनेछन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई नगद एक लाख प्रदान गरिनेछ । उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उदयमान खेलाडीले जनही ५०÷५० हजार पाउनेछन् । प्रत्येक खेलका म्यान अफ द म्याचलाई नगद १० हजार प्रदान गरिनेछ । लिगकम नकआउटका आधारमा आयोजना हुने प्रतियोगिताका सम्पुर्ण खेलहरु धनगढी स्थित फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदानमा आयोजना गरिनेछन् ।
प्रतियोगितामा देशभरका ८ वटा क्लबका टीमहरुको सहभागीता रहनेछ । प्रतियोगितामा डिसिए धनगढी, सिवाईसी अत्तरिया, क्रिकेट एक्सिलेन्स सेन्टर (सीईसी) काठमाण्डौं, फेण्ड्स युथ क्लब डडेल्धुरा, घोडाघोडी–११ सुख्खड, न्यु होराईजन वुटवल, दशरथ चन्द एकेडेमी बैतडी र वोष्टन क्रिकेट झापाको सहभागीता जनाउनेछन् । प्रतियोगितामा सहभागी टोलीमा ए क्याटोगोरीका चार जना, बी क्याटोगोरीका पाँच जना र बाँकी सी क्याटोगोरीका गरी १४ खेलाडी समावेश गर्न पाईनेछ । ए क्याटोगोरीमा नेपाली राष्ट्रिय टीमका खेलाडी रहेका छन् भने बी क्याटोगोरीमा नेपाली राष्ट्रिय टीम ए, यु– १९ नेपाली राष्ट्रिय टोली र प्रदेश स्तरीय सिनियर खेलाडी रहेका छन् । सी क्याटोगोरीमा यु– १६ नेपाली राष्ट्रिय टोली, प्रदेशका यु–१९ र यु–१६ का खेलाडी र अन्य खेलाडीहरु रहेका छन् ।
प्रतिक्रिया