पीएम कप क्रिकेटः एपीएफ र सुदूरपश्चिम सुपर फोरमा, कर्णाली, लुम्बिनी र गण्डकी बाहिरिए
धनगढी । प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरीको एपीएफ क्लब र सुदूरपश्चिम प्रदेश सुपर चारमा पुगेका छन् । एपीएफ क्लव अपराजित रहदै सात अंकसहित सुपर चारमा पुगेको हो भने सुदूरपश्चिम समूह चरणको एक खेलमा पराजित हुँदा ६ अंकसहित अन्तिम चारमा पुगेको हो ।
समूह ‘ए’ मा रहेका लुम्बिनी, गण्डकी र कर्णाली प्रदेश भने बाहिरिएका छन् । समूह चरणमा गण्डकी र कर्णाली प्रदेशले एउटा खेल पनि जित्न सकेनन् भने लुम्बिनी प्रदेश दुई खेलमा विजयी भएको थियो । तीन वटै टोलीको एक–एक खेल भने वर्षाका कारण रद्ध भएको थियो । समूह चरणमा लुम्बिनीले ५ तथा कर्णाली र गण्डकीले १÷१ अंक जोडे ।
यस्तै, शनिबार कैलालीको फाप्ला मैदानमा भएको पहिलो खेलमा एपीएफले सुदूरपश्चिमलाई ५९ रनले हरायो । एपीएफले दिएको एक सय २६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले निर्धारित १८ ओभरको खेलमा छ विकेट गुमाएर ६७ रन मात्र बनायो । सुदूरपश्चिमका लागि कबिता कुँवरले सबैभन्दा धेरै २९ रन बनाइन् । एपीएफकी इन्दु बर्मा र कबिता जोशीले समान दुई÷दुई विकेट लिए । यस्तै सबनम राईले एक विकेट लिइन् ।
त्यसअघि खराब मौसमका कारण १८ ओभरमा छोट्याइएको खेलमा एपीएफले २ विकेट गुमाएर १ सय २६ रन बनाएको थियो । एपीएफका लागि इन्दु बर्माले ५८, ममता चौधरीले ३६ र कविता जोशीले १३ बनाए । सुदूरपश्चिमकी जानकी थापाले एक विकेट लिइन ।
शनिबार नै ‘ए’ समूहअन्तर्गत भएको समूहचरणको अन्तिम खेलमा लुम्बिनी प्रदेशले कर्णालीलाई ७१ रनले पराजित गरेको छ । कैलालीको धनगढीस्थित फाप्ला मैदानमा भएको खेलमा १२७ रनको विजयी लक्ष्य पाएको कर्णाली ५५ रनमा समेटियो । उसका लागि रमा बुढाथोकीले २० रन जोड्नुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् । लुम्बिनीका सरस्वती पुनले ४ विकेट लिइन् । मनिषा राना, आस्ना चौधरी र मधु डिसीले १÷१ विकेट लिइन् ।
त्यसअघि टस जितेर ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १२६ रन बनायो । उसका लागि रञ्जु श्रेष्ठले ५१ रनको अविजित पारी खेलिन् । कर्णालीले ३९ रन अतिरिक्त दिएको थियो । कर्णालीका अञ्जु गुरुङले ३ र रमा बुढाथोकीले २ विकेट लिइन् । प्रतियोगिताअन्तर्गत आइतबारदेखि भने समूह ‘बी’ का खेल हुनेछन् ।
प्रतिक्रिया