पीएम कप महिला क्रिकेट : सुदूरपश्चिम र एपीएफको लगातार दोस्रो जित

  बुधबार ०२, माघ २०८१ २०:०३

धनगढी। प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लब र घरेलु टोली सुदूरपश्चिम प्रदेशले लगातार दोस्रो जित हात पारेका छन् ।

बुधबार धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा भएको पहिलो खेलमा गण्डकी प्रदेशलाई ८ विकेटले पराजित गर्दै एपीएफले प्रतियोगितामा दोस्रो जित निकाल्यो । गण्डकी प्रदेशले दिएको ७१ रनको लक्ष्य एपीएफले ९.३ ओभरमा २ विकेट गुमाएर भेट्टाएको थियो ।
एपीएफका लागि कप्तान इन्दु बर्मा २६ र रोमा थापा १४ रनमा अविजित रहे । गण्डकीका लागि आकृति तिवारी र यशोदा भुजेलले समान १–१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको गण्डकी प्रदेशले निर्धारित १५ ओभरमा ५ विकेटको क्षतिमा ७० रन बनाएको थियो । गण्डकीका लागि कप्तान सिर्जना पौडेलले सर्वाधिक २५ रन जोडिन् । यस्तै, रेखा तामाङले १७ र श्रेया शाहीले १३ रन जोडिन् । एपीएफका लागि बिनु बुढाले २ र करुणा भण्डारीले १ विकेट लिए । यसअघि मंगलबार भएको खेलमा एपीएफले कर्णाली प्रदेशमाथि १ सय ११ रनको फराकिलो जित निकालेको थियो ।

यस्तै आफ्नो पहिलो खेलमा गण्डकीलाई पराजित गरेको सुदूरपश्चिमले दोस्रो खेलमा लुम्बिनी प्रदेशलाई ७५ रनले पराजित गरेको छ । सुदूरपश्चिमले जितका लागि १२८ रनको लक्ष्य दिएकोमा लुम्बिनी प्रदेश १९.१ ओभरमा सबै विकेट गुमाउँदै ५२ रनमा समेटियो ।

लुम्बिनीका लागि सरस्वती पुनले १४ र कप्तान सरस्वती जिएमले १२ रन जोड्नबाहेक अन्यले दोहोरो अंक छुन सकेनन् । सुदूरपश्चिमका रेवती धामीले ३, आशिका महराले २ तथा कविता कुँवर, रितु कनौजिया करिष्मा थापा र जानकी थापाले १–१ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँँदै १२७ रन बनाएको थियो । उसका लागि कविता कुँवरले ५५ र मनिषा बोहराले २३ रन बनाए । लुम्बिनीका सरस्वती पुनले ३ तथा सम्झना मगर र मधु डिसीले १–१ विकेट लिए । प्रतियोगितामा प्रथम स्थान हासिल गर्नेले ५ लाख पुरस्कार पाउने छ । दोस्रो हुनेले ३ लाख, प्लेयर अफ द सिरिजलाई ५० हजार, वेस्ट ब्याटर र वेस्ट बलरलाई २५–२५ हजार र प्रत्येक खेलका प्लेयर अफ द म्याचलाई ३ हजार पुरस्कार दिइने छ ।

clock बुधबार ०२, माघ २०८१ २०:०३

प्रतिक्रिया