धान नहुने कैलालीको ग्रामीण क्षेत्रका खेतमा बदाम
धनगढी । धान नहुने खेतमा बदाम खेती गरेर किसान आम्दानी गर्न थालेका छन् । कैलालीको ग्रामीण क्षेत्रका किसान बदाम खेती गरेर आम्दानी गर्न थालेका हुन् ।
बाढीले बालुवा पटान गरेको खेतमा उनीहरुले व्यावसायिक बदाम गर्न थालेका छन् । कैलालीको दक्षिणी क्षेत्रमा डुबान समस्याका कारण धान उब्जनीयोग्य कतिपय जमिन बिग्रिएको छ । त्यस्तो खेतमा बदाम खेती भइरहेको छ । त्यसले धेरथोर आम्दानी पनि भइरहेको किसानले जनाएका छन् ।
“यसवर्ष तीन क्विन्टल बदाम फलाएको थिएँ”, कैलारी गाउँपालिका–३ मोहनपुरका दिनेश चौधरीले भन्नुभयो, “प्रति केजी काँचो १६० र भुटेको प्रतिकेजी दुई सयमा बिक्री गरिरहेको छु ।” उहाँले मान्छेहरु घरमै आएर बदाम खरिद गरेको बताउनुभयो ।
जिल्लाको दक्षिणी क्षेत्रमा मोहना नदीले धेरैजसो खेतलाई बगरमा परिणत गरि दिएको छ । बालुवै बालुवा भएको त्यस्ता जमिनमा धान उब्जनी हुँदैन । तर बदाम भने राम्रै फल्ने गरेको किसान बताउँछन् ।
नदीले धान उत्पादन हुने जमिन बिगारेपछि विगत एक दशकदेखि बदाम खेती गरेर आर्थिक आर्जन गरिरहेको कैलारी गाउँपालिका–३ कै कृषक सैतुराम चौधरीले बताउनुभयो । उहाँले यस वर्ष चार कट्ठा जमिनमा बदाम खेती गर्दा दुई क्विन्टल जति बदाम फलाएको उल्लेख गर्नुभयो । “बलौटे जमिनमा बदाम उत्पादन राम्रो हुने गर्दछ”, चौधरीले भन्नुभयो, “धान उत्पादन नहुने जमिनमा धेरैजसो किसानले आजकल बदाम र सखरखण्ड खेती गर्ने गरेका छन् ।”
थोरै जग्गा जमिन रहेका कतिपय परिवारको गुजाराको माध्यम नै बदाम खेती बनेको छ । भएको जग्गा बालुवा बगर बनेपछि उनीहरु बदाम खेती गरेर गुजारा चलाउने गरेको जनाइएको छ । कैलारी गाउँपालिकाका कृषि शाखा प्रमुख मैँया चौधरीले बदाम खेती प्रवर्द्धनतर्फ गाउँपालिकाले हालसम्म कुनै कार्यक्रम सञ्चालन नगरे पनि किसानले यो खेती गरिरहेको बताउनुभयो ।
किसानले सखरखण्ड खेती पनि गर्न थालेका छन् । मोहनपुरलगायतको गाउँमा अहिले सखरखण्ड खन्ने चटारो चलेको छ । माघी पर्व नजिकिएपछि सखरखण्डको माग भइरहेको किसानले बताएका छन् ।
प्रतिक्रिया