कैलालीको चुरेका पहिरो पीडितको विचल्ली

  मङ्गलबार ०९, जेठ २०८० १२:४४

धनगढी । डिभिजन वन कार्यालयले अस्थायी रुपमा बसोबास गरिरहेको क्षेत्रमा डोजरको प्रयोग गरेर संरचना भत्काएपछि कैलालीको चुरेका पहिरो पीडितको विचल्ली भएको छ।

मुख्यमन्त्री कार्यालय अगाडी धर्ना दिन धनगढी आइपुगेका उनीहरु बास नपाएर कबर्ड हलको खुला आकाशमा रातदिन बिताउन बाध्य भएका छन्।

चार सय १८ जना पहिरो विस्थापित परिवार लालाबालासहित कबर्ड हलमा बसिरहेका छन्। उनीहरुसँग गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षसहितका जनप्रतिनिधि समेत यहाँ आइपुगेका छन्।

२०७७ सालमा पहिरोले घरबारविहीन भएका परिवारहरुलाई गाउँपालिका, स्थानीय प्रशासन, वन कार्यालय समेतको समन्वयमा चुरे गाउँपालिका वडा नम्बर ४ को पैनेरुगडा र टाँकगडामा अस्थायी रुपमा व्यवस्थापन गरेर राखिएको थियो।

तर वन कार्यालयले डोजर लगाएर संरचना भत्काइदिएपछि भने उनीहरु समस्यामा परेका छन्।

अस्ति नै धनगढी पुगेका उनीहरु हिजो राति कभर्डहलमै बसे। आज पनि व्यवस्थापन नभए त्यहीँ बस्नुपर्ने उनीहरुको बाध्यता छ। तर मुख्यमन्त्री कार्यालय घेराउ नै गर्दा पनि सरकार र सरोकारवालाले चासो नै नदिएको उनीहरुको गुनासो छ।

आफूहरु पनि यहीँ देशको नागरिक भएकाले शिघ्र व्यवस्थापन हुनुपर्ने उनीहरुको माग छ। सरकार नै नभएको अनुभूति भएको बताउँदै उनीहरुले सरकार खोज्नुपर्ने बेला आएको बताएका छन्।

clock मङ्गलबार ०९, जेठ २०८० १२:४४

प्रतिक्रिया