सुदूरपश्चिमलाई हराउँदै जनकपुर बन्यो एनपिएल च्याम्पियन, जित्यो १ करोड १० लाख

  शनिबार ०६, पुष २०८१ १६:१०

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि जनकपुर बोल्ट्सले जितेको छ। फाइनल खेलमा सुदुरपश्चिम रोयल्सलाई पराजित गर्दै जनकपुरले उपाधि हात पारेको हो। जनकपुरले सुदुरपश्चिमलाई ५ विकेटले पराजित गर्‍यो।

सुदुरपश्चिमले दिएको १८५ रनको लक्ष्य जनकपुरले १९।२ ओभरमा ५ विकेट गुमाएर पुरा गर्‍यो। जनकपुरका लागि ओपनर लाहिरु मिलान्थाले शानदार ब्याटिङ गरे। उनले सर्वाधिक ८७ रन बनाए। ४९ बल खेलेका उनले ९ चौका र ४ छक्का प्रहार गरे। यस्तै अर्का ओपनर आसिफ शेखले १९ बलमा ४ चौका र दुई छक्का प्रहार गर्दै ३३ रन बनाए। हर्ष ठाकेरले ३० रन अविजित रहे। 

सुदुरपश्चिमका लागि सेफ जैब, इशान पाण्डेय कप्तान दिपेन्द्र सिंह एैरीले समान एक एक विकेट लिए। 

यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको सुदुपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १८४ रन बनाएको थियो।

सुदुरपश्चिमका लागि ओपनर बिनोद भण्डारी र सेफ जैबले राम्रो सुरुवात गरेका थिए। उनीहरुले पहिलो विकेटका लागि ११७ रनको साझेदारी गरे। अर्धसतक प्रहार गरेका जैब ६९ रन बनाएर आउट भए। उनले ४३ बलमा ८ चौका र २ छक्का प्रहार गरे। 

भण्डारीले ३१ बलमा एक चौका र तीन छक्काको मद्दतमा ४१ रन बनाए। यस्तै ब्राण्डन म्याकमुलेन र हरमित सिंहले समान १४ १४ रन बनाए। स्कट कुगेलिनले १३ रन बनाउँदा कप्तान दीपेन्द्र सिंह ऐरीले ८ रन बनाएर आउट भए। 

जनकपुरका लागि मोहम्मद मोहसिन र किशोर महतोले समान तीन तीन विकेट लिए। यस्तै जिमी निशाम र ललित राजवंशीले समान एक एक विकेट लिए। 

उपाधिसँगै जनकपुरले ट्रफीसहित रु एक करोड १० लाख प्राप्त गरेको छ भने उपविजेता सुदुरपश्चिमले रु ५१ लाख प्राप्त गरेको छ। साथै तेस्रो भएको कर्णाली याक्सले रु २५ लाख र चौथो भएको चितवन राइनोजले रु १५ लाख प्राप्त गर्नेछन्।

May be an image of 9 people and text

clock शनिबार ०६, पुष २०८१ १६:१०

प्रतिक्रिया