सुदूरपश्चिममा पुँजीगत बजेट कार्यान्वयनको अवस्था निराशाजनक

  आइतबार ३०, मङि्सर २०८१ १३:१४

धनगढी । सुदूरपश्चिम प्रदेशमा पुँजीगत बजेट कार्यान्वयनको अवस्था निराशाजनक देखिएको छ। प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि कुल १८ अर्ब ७६ करोड २४ लाख पुँजीगत बजेट विनियोजन गरेको छ। तर चालु आर्थिक वर्ष सुरु भएको पाँच महिना वितिसक्दा पनि पुँजीगत बजेट कार्यान्वयन ७ प्रतिशत पनि पुग्न सकेको छैन। यस्तै चालुतर्फको बजेट कार्यान्वयनको अवस्था पनि निराशाजनक देखिएको छ। चालुतर्फ १२ अर्ब ८५ करोड ७४ लाख बजेट विनियोजन गरिएको छ।

प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ३१ अर्ब ६२ करोड ९८ लाख बजेट विनियोजन गरेकोमा कार्यान्वयनको अवस्था निराशाजनक देखिएको छ। अहिलेसम्म कुल तीन अर्ब ३२ करोड ४३ लाख रुपैयाँ मात्र खर्च भएको पाइएको छ। 
आर्थिक वर्ष सुरु भएको दुई महिनापछि बजेट ल्याएको प्रदेश सरकारले बजेट खर्च बढाउन सकेको छैन।

प्रदेश लेखा नियन्त्रण कार्यालयको तथ्यांकअनुसार हालसम्म १० दशमलव ५१ प्रतिशत बजेट खर्च भएको छ। त्यसमध्ये पूँजीगत खर्च ६ दशमलव ८६ प्रतिशत मात्र छ। यो अवधिमा सरकारले पुँजीगत बजेटतर्फ एक अर्ब २८ करोड ७६ लाख खर्च गरेको प्रदेश लेखा नियन्त्रण कार्यालयले जनाएको छ। प्रदेश सरकारले चालुतर्फ एक अर्ब ७७ करोड ६४ लाख खर्च गरेको छ।

कुल बजेटको ५९ दशमलव ३२ प्रतिशत पूँजीगततर्फको बजेट छ। आर्थिक वर्ष सुरु भएको दुई महिनापछि गत असोज ६ गते सुदूरपश्चिम प्रदेश सभाबाट प्रदेश सरकारको बजेट पारित भएको थियो। ढिलोगरी बजेट आएकाले अधिकांश योजनाहरु कार्यान्वयनमा जान सकेका छैनन्। जसले गर्दा बजेट खर्च पनि न्यून देखिएको हो। यस वर्ष बजेट खर्च घट्ने देखिएको छ।

प्रदेश सरकारले असार १ गते प्रदेश सभामा बजेट पेश गर्ने र सभाले असार मसान्तभित्र बजेट पारित गरिसक्नुपर्ने कानुनी व्यवस्था छ। तर यसअघिको सरकार अल्पमतमा परेपछि सदनमा पेश गरेको बजेट पारित हुन सकेको थिएन। बजेट पारित हुन नसक्दा साउन १ गतेदेखि प्रदेश बजेटविहीन अवस्थामा गएको थियो। काँग्रेस–एमाले समीकरणसँगै नयाँ सरकार गठन भएपछि आर्थिक मामिला मन्त्री बहादुरसिंह थापाले अघिल्लो सरकारले ल्याएको आकारकै बजेट भदौ ३१ गते प्रदेश सभामा पेश गरेका थिए। 

clock आइतबार ३०, मङि्सर २०८१ १३:१४

प्रतिक्रिया