मार्तडी–कोल्टी सडकको दुर्दशा : २५ वर्षदेखि कालोपत्रेमा हिँड्ने सपना अधुरै
बाजुरा । साना ठुला निर्वाचनमा सधैँ आश्वासको माध्यम बन्ने बाजुरा सदरमुकाम मार्तडीदेखि कोल्टी पुग्ने सडक अझै निर्माण सम्पन्न हुन सकेको छैन । २०५६ सालमा शिलान्यास भएर निर्माण सुरु भएको करिब २५ वर्षमा जम्मा ९ किलोमिटर मात्रै सडक कालोपत्रे भएको छ ।
मार्तडी देखि कोल्टीसम्मको सडकलाई मार्तडीबाट २०५६ सालदेखि २०६२ सालमा तत्कालीन जिल्ला विकास समिति बाजुरा अन्तरगतको कामका लागि खाद्यान्न कार्यक्रम (आरसिआईडव्लु) ले ४२ किलोमिटर सडकमा ३५ करोड भन्दा बढी खर्च गरिसकेको थियो ।
त्यसपछि संघीय सरकार र प्रदेश सरकारले ठुलो लगानी गर्दा पनि सडक कालोपत्रे हुन सकेको छैन । मार्तडी कोल्टी सडक ३ वर्ष भित्र कालोपत्रे गरिसक्ने योजना सहित सम्झौता भएको ५ वर्ष पुरा भइसक्दा पनि सडक निर्माण हुन सकेको छैन ।
मार्तडीदेखि चुथीसम्म ९ किलोमिटर सडक कालोपत्रे गर्ने जिम्मा पाएको धुलिखेल ग्वाल्भा श्याम एन्ड शङ्कर प्रालि काठमाडौंले आफ्नो काम सम्पन्न गरिसकेको छ । तर, त्यसपछिको ३३ किलोमिटर सडक अझै निर्माणाधीन छ । अहिले क्रमिक रूपमा काम भइरहेको पूर्वाधार विकास कार्यालय अछामका कार्यालय प्रमुख जङ्गबहादुर थापाले जानकारी दिए ।
चुथीदेखि ढम्कनेसम्मको झन्डै ५ किलोमिटर सडकको जिम्मा बानिया कुशेश्वर जेबीले लिएको थियो । ढम्केने देखि दानसाघु खोलासम्मको २६ किलो मिटरको जिम्मा तेज बानिया जेबीले लिएको थियो ।
२०७७ कार्तिक १९ गते २०८७ असार १७ गतेसम्म काम सम्पन्न गर्ने भन्दै १२ करोडमा ५ किलोमिटरको ठेक्का पाएको बानिया कुशेश्वर जेबीले दोस्रा पटक थप भएको मितिमा पनि काम सम्पन्न नगर्ने देखिएको छ ।
सम्झौता समयमा निर्माण सम्पन्न नभएपछि आगामी फागुन १९ गतेसम्मको म्याद थप गरिएको छ । झन्डै ५ करोड बढी रकम लिइसक्दा पनि अझै कालोपत्रे हुन सकेको छैन ।
त्यस्तै ढम्केने देखि दानसाघु खोलासम्मको २६ किलो मिटरको सडक २०८० असार १९ सम्म सम्पन्न गर्ने भन्दै ५० करोडमा जिम्मा पाएको तेज बानिया जेबीले २१ करोड भन्दा बढी रकम झिकिसकेको छ तर, अहिले सम्म कालोपत्रे हुन सकेको छैन ।
सम्झौता मितिमा काम सम्पन्न नगरेपछि २०८२ वैशाख २० गतेसम्मको म्याद थप गरिएको थियो । थपिएको समयमा पनि काम सम्पन्न हुने सम्भावना क्षीण रहेको छ ।
कोरोनाका कारण केही वर्ष सडक बन्न नसकेको भन्दै अहिले निर्माण कार्य सुरु भइरहेको पूर्वाधार विकाश कार्यालय अछामका कार्यालय प्रमुख जङ्गबहादुर थापाले जानकारी दिए ।
‘पहिले कोरोनाका कारण समस्या आइरहेको थियो । निर्माण कार्यमा ढिलाइ भएको हो । त्यो बेला आएको बजेट पनि पुरै खर्च हुन सकेन ’ उनले भने ‘अहिले काम सुरु भएको छ ।’
जिल्लाको सदरमुकाम मार्तडीबाट पुर्वीउत्तरी क्षेत्रका ४ वटा स्थानीय तह र कर्णाली प्रदेशका छिमेकी जिल्ला मुगु र हुम्लाका केही स्थानीय तहको मुख्य व्यापारी केन्द्रको रूपमा रहेको कोल्टी बजार हो । मार्तडी कोल्टी सडक खण्डको हालसम्म निर्माण कार्य कछुवा गतिमा भइरहेको स्थानीयको आरोप छ ।
बाजुराका प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले सडक निर्माणमा ढिलाइ गरेको र लापरबाही गरेको भन्दै पटक पटक ताकेता गरिएको समेत बताए । ‘ सडक निर्माणमा ढिलाइ भइरहेको छ । ठेकेदारले लापरबाही गरेको भन्दै पटक पटक ताकेता गरिरहेका छौँ’ उनले भने ।
प्रदेश सरकारको बहुवर्षीय योजनामा परेको यो सडकमा ९ किलोमिटरको काम सम्पन्न भए पनि ३३ किलोमिटर सडक कहिले सम्म बनिसक्ने भन्ने अत्तो छैन । जसका कारण विगत २५ वर्षदेखि कालोपत्रे सडकमा यात्रा गर्ने यहाँका नागरिकहरूको सपना अधुरै रहेको छ ।
जोखिम यात्रामा महँगो भाडा
ठेकेदारले निर्धारित समयमा सडक निर्माण गर्न नसक्दा अहिले यहाँका स्थानीयहरू महँगो भाडा तिरेर जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् । मार्तडीदेखि कोल्टीसम्म करिब ४३ किलोमिटर रहेको छ । त्यो मध्येको ४० किलोमिटर सडकको ठेक्का लगाएको पाँच वर्ष बढी भइसक्यो तर, अहिलेसम्म काम सम्पन्न हुन सकेको छैन । अहिले ४३ किलोमिटरको यात्राका लागि यात्रुले १ हजार भन्दा बढी भाडा तिर्नु पर्ने बाध्यता रहेको छ ।
बाटो राम्रो हुँदा र खोलामा बाढी नआउँदा १ हजार बढी रकम पर्ने यात्रा बाटो खराब हुँदा र खोलामा बाढी आउँदा त्यसको दुई गुण पैसा लाग्ने गरेको बुढीनन्दा नगरपालिका प्रमुख जनक बोहराले जानकारी दिए ।
‘खोलामा पुलहरू नहुँदा ठाउँ ठाउँमा अर्को गाडी चढ्नु पर्ने बाध्यता रहेको छ । त्यसो हुँदा ४० किलोमिटरको यात्रामा यात्रुहरूले २ हजारसम्म रकम तिर्न बाध्य हुन्छन् ’ नगरप्रमुख बोहराले भने, ‘महँगो भाडा तिरेर पनि सुविधाजनक यात्रा भने हुँदैन । यहाँ जोखिम छ ।’
उनले सरकारको निःशुल्क सेवाका लागि पनि नागरिकले महँगो शुल्क तिर्न बाध्य भएको बताए ।
‘नागरिकता बनाउन पैसा लाग्दैन तर, यही सडकमा ओहोरदोहोर गरेर नागरिकता बनाउन जाँदा एउटा व्यक्तिको ४्५ हजार खर्च हुन्छ ’ उनले भने ‘यहाँका जनताले सरकारको सेवाको लागि पनि महँगो भाडा तिरेर सदरमुकाम जानुपर्ने बाध्यता रहेको छ ।’
यहाँ भाडा तथा निजी जिपहरूले यात्रु बोक्छन् । ८ जना यात्रु बोक्ने गाडीले त्यसको दोब्बर सवारी बोकिरहेका छन् । त्यसले जोखिम अझै बढाएको छ । अहिले कालोपत्रेको ठेक्का भए पनि यहाँ आवश्यक पर्ने तीन पुलको भने ठेक्का भएको छैन । जसका कारण सडक बनेपछि पनि यात्रुहरूले ठाउँ ठाउँमा उत्रिएर अर्को गाडी चढ्ने बाध्यता भने कायमै रहने देखिन्छ ।
बालुहिल खोलामा पक्की पुल छैन । अनाइ खोलमा पुल छैन । रजातलीको खेलमा पनि पुल छैन । यहाँ पुल नहुँदा हिउँदमा जोखिम मोलेर त्यही खोलामा गाडी चल्छन् । बर्खामा गाडी फेर्दै यात्रा गर्नु पर्छ ।
प्रतिक्रिया