बज्यैको सहारामा बाजुराको रुम्दीका चार नाबालक

  सोमबार ०३, मङि्सर २०८१ १९:३८
बाजुराको अति दुर्गम हिमाली गाउँपालिका–२ रुम्दी गाउँमा अलपत्र परेका चार नाबालक र उनीहरूको सहारा बनेकी ७८ वर्षीय बज्यै ।

बाजुरा। बाजुराको अतिदुर्गम हिमाली गाउँपालिका–२ रुम्दी गाउँमा चार बालबच्चा बिचल्लीमा परेका छन् । बुवाको मृत्यु भएको र आमाले दोस्रो बिहे गरेपछि ती नाबालकहरू बिचल्लीमा परेका हुन् ।

बिचल्लीमा परेका नाबालकहरू ७८ वर्षीय वृद्ध बज्यै डिलकला थापाको सहारामा छन् । बिचल्ली पर्नेमा १३ वर्षीया ईस्वरी थापा, ८ वर्षीया जनिशा थापा, ७ वर्षीया अन्तिमा थापा र ५ वर्षका विवेग थापा रहेको स्थानीय मनिजङ्ग बुडथापाले बताए ।

७ कात्तिक २०७७ मा स्थानीय झग थापाको उपचार हुने नसकेर अकालमै मृत्यु भएको थियो । २०७८ साउनमा उनकी श्रीमती शान्ता थापाले दोस्रो विवाह गरिन् । श्रीमानको मृत्यु र श्रीमतीले अर्को बिहे गरेपछि घरमा नाबालक र वृद्ध बज्यै मात्रै छन् ।

३ वर्षदेखि यी चार केटाकेटी अलपत्र अवस्थामा परेका छन् । उनीहरूको उद्धार तथा सहयोगका लागि धेरै ठाउँमा हारगुहार गर्दा पनि कसैबाट सहयोग नपाएको बज्यै डिलकलाले बताइन् ।

रुम्दी बाजुराको अतिविकट गाउँ हो । यो ठाउँमा राज्यका निकायको पहुँच कमजोर छ । तीन दिदी बहिनी स्थानीय विद्यालय त जान्छन् तर, स्कुल ड्रेस, स्टेशनरी बिनै । ईश्वरी कक्षा ६, जनिशा कक्षा ३ र अन्तिमा कक्षा १ मा पढ्छन् । ५ वर्षका विवेग चाहिं स्कुल जान थालेका छैनन् ।

स्थानीय शिक्षकका भनाइमा अरुले दिएका लुगा लगाए पनि, जुत्ता चप्पल नहुँदा उनीहरू खाली खुट्टा विद्यालय जाने–आउने गर्छन् ।  ‘मेरो सामाजिक सुरक्षा भत्ता र केही मागेका पैसाले यिनलाई पालिरहेकी छु,’ बज्यै डिलकला थापाले रुँदै भनिन् ।

‘चाडपर्वमा अरुले नयाँ लुगा लगाएको देख्दा हामीलाई पनि चाहियो भनेर सताउँछन् । मागेको लुगाले काम चलाउनुपर्छ । चाडबाड पनि किन आएको हो रु निको नौलो खान पनि पैसा हुँदैन, अरुको देखेर टुलुटुलु हेर्नुपर्छ,’ डिलकलाले भनिन् ।

सम्पत्तिका नाममा उनीहरूको बस्ने एउटा सानो छाप्रो छ । स्थानीय गाउँलेहरूका भनाइमा, जमिनमा खेती लगाउन पाए महिना दिनलाई छाक टार्न पुग्थ्यो, त्यो पनि खेती गर्ने कोही नहुँदा बाँझै छ ।

वडाअध्यक्ष रणबहादुर बुढाले रुम्दी गाउँका यी चार नाबालकहरू बिचल्लीमा परेको बताए । उनले भने, ‘पालिकाले पनि सधैं केही गर्न सक्दैन । उनीहरूको उद्धार हुनसके हुन्थ्यो ।’

clock सोमबार ०३, मङि्सर २०८१ १९:३८

प्रतिक्रिया