सुदूरपश्चिम रोयल्सले आज धनगढीमा ट्यालेन्ट हन्ट गर्दै, र्याली पनि हुने
धनगढी । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को लागि फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले आइतवार ट्यालेन्ट हन्ट आयोजना गर्ने भएको छ ।धनगढी क्रिकेट एकेडेमीको मैदानमा बिहान ९ बजेदेखि ट्यालेन्ट हन्ट सुरू हुने सुदूरपश्चिम रोयल्सले जनाएको छ ।
छनोटका लागि सुदूरपश्चिम रोयल्सका मुख्य प्रशिक्षक जगत टमाटा लगायत प्राविधिक टोली शनिबार नै धनगढी आइसकेको छ। सहभागी हुन चाहने खेलाडीहरुका लागि सुदूरपश्चिम रोयल्सले अनलाइन मार्फत खेलाडी दर्ताको लागि १५ दिन अगाडी नै सूचना जारी गरेको थियो ।
ट्यालेन्ट हन्टमा सहभागी हुन अहिलेसम्म सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लाबाट २ सय भन्दा बढी खेलाडीहरुले नाम दर्ता गराएको रोयल्सले जनाएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले एनपिएलका लागि हरेक फ्रेन्चाइज टोलीले ट्यालेन्ट हन्टबाट एकजना आइकोनिक खेलाडी छनोट गर्नुपर्ने प्रावधान राखेको थियो ।
ट्यालेन्ट हन्ट सकेर सुदूरपश्चिम रोयल्सले केहिदिन धनगढीको फाप्ला खेलमैदान र कञ्चनपुरको महेन्द्रनगरमा बन्द प्रशिक्षण थाल्नेछ । सुदूरपश्चिम रोयल्सले सोमवार धनगढीको चौराहदेखि रंगशालासम्म र्यालीको पनि आयोजना गर्ने भएको छ ।
र्यालीमा सहभागी हुन मार्की खेलाडी दिपेन्द्र सिंह ऐरी,आरिफ शेख,विनोद भण्डारी लगायत टिममा आबद्ध नेपालमा उपलब्ध भएका सबै खेलाडीको सहभागिता रहने र र्यालीको तयारी भैरहेको सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले बताए ।
उनले सुदूरपश्चिको पहिचानलाई थप उचाइमा पुगाउन सुदूरपश्चिम रोयल्सको सिंगो टिम लागि परेको भन्दै धनगढीमा उपलब्ध हुने सबै सुदूरपश्चिमेलीलाई र्यालीमा सहभागी भएर टिमको हौसला बुलन्द गरिदिन हुन आग्रह समेत गरेका छन ।
 
                     
                                 
                         
                                         
                                         
                                             
                                             
                                     
                                             
                                             
                                     
                                     
                                     
                                     
                                     
                                             
                         
                         
                         
                         
                         
                         
                        
प्रतिक्रिया